
प्रज्ञा तिमल्सिना र विशाल लामा (इमेज)
भक्तपुर, फागुन १६ । ‘कोरोनाभाइरस’को संक्रमणबाट जोगाउन चीनबाट १३ दिनअघि नेपाल ल्याइएकाहरुको शनिबार (भोलि)देखि पुनः स्वास्थ्य परीक्षण हुने भएको छ । पुनः परीक्षणबाट संक्रमण नभेटिएकाहरुलाई घर पठाइने छ ।
यही फागुन ४ गते चीनबाट ल्याइएकाहरुलाई भक्तपुरको खरिपाटीस्थित ‘क्वारेन्टाइन’मा राखिएको छ ।
उनीहरुको पुनः स्वास्थ्य परीक्षणबाट संक्रमण नभेटिएमा घर पठाइने छ ।
रोचक त के छ भने चीनबाट विद्यार्थीलगायतलाई लिन गएको २५ जनाको टोली सदस्यहरुलाई पनि क्वारेन्टाइनमै राखिएको छ । उनीहरुको पनि पुनः स्वास्थ्य परीक्षण हुँदैछ ।
यसअघि पनि उनीहरुको घाँटी र नाकभित्रको स्वाबको परीक्षण गरिएको थियो ।
उनीहरुलाई घर पठाउनुअघि स्वास्थ्य मन्त्रालयले शनिबार र आइतबार फेरि घाँटी र नाकभित्रको स्वाब परीक्षण गर्न लागेको हो ।
नेपाली सेनातर्फका चिकित्सक डा. नविन फुयाँलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सबैको स्वास्थ्य परीक्षणपछि नतिजा हेरेरमात्र उनीहरुलाई घर पठाइने बताए ।
परीक्षणपछि संक्रमण भेटिएकाहरुलाई भने थप उपचारका लागि अस्पताल ‘रिफर’ गरिने छ ।
क्वारेन्टाइनमा रहेकाहरुलाई हालसम्म परिसरभन्दा बाहिर पनि जान र परिवार भेट्नसमेत दिइएको छैन ।
यहाँ रहेकाहरुलाई खाना र खाजा गरी दैनिक चारपटक खाने व्यवस्था छ ।
नेपालमा हालसम्ममा एकजनामा मात्र कोरोनाभाइरसको संक्रमण भेटिएको थियो ।
पहिलो परीक्षणमा अरु कसैमा संक्रमण देखिएन । यो क्वारेन्टाइनमा रहेकाहरुको पुनः परीक्षणबाट कोरोना संक्रमण नदेखियोस् भन्ने कामना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्