२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संसदमा सांसदहरुबीच घोचपेच, मन्त्रीको राजीनामा माग, चेतावनी


0
Shares

काठमाडौं, फागुन १५ । सदनमा ललिता निवास जग्गा प्रकरण, सुन तस्करीकान्ड र ‘वाइडबडी’ विमान प्रकरणबारे सत्ता र प्रतिपक्ष दलका सांसदहरुबीच घोचपेच भएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद पदम गिरीले अघिल्ला सरकारका पालामा भएका भ्रष्टाचारका विषयहरु पनि वर्तमान सरकारले नै गरेकोजसरी प्रतिपक्ष दलका सांसदले आलोचना गरेको भन्दै आपत्ति जनाए ।

विशेष समयमै नेकपा सांसद गिरीलाई लक्षित गरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले २०४८ देखि हालसम्म १५ वर्ष कम्युनिस्ट प्रधानमन्त्रीले सत्ता चलाएको इतिहास नर्बिसन आग्रह गर्दै भ्रमको खेती नगर्न चेतावनी दिइन् ।

सत्तारुढ दलका सांसद जनार्दन शर्माले नेपाल ट्रष्टले सार्वजनिक गरेको श्वेतपत्रप्रति आपत्ति जनाउँदै कसैले तर्साउँदैमा आफू नतर्सिने बताए ।

सांसद दुर्गा पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सतहमा आएका पात्रसहित पर्दापछाडि पनि थुप्रै पात्र रहेको भन्दै छानबिनको माग गरिन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रियसभामा पेस भएको नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमा सामान्य भाषासमेत नहेरेर संसदको मर्यादामा चोट पुर्‍याएको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा मागे ।

सांसद अतहर कमाल मुसलवानले जनताबाट अस्वीकार गरिएका व्यक्ति वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन लागिएको भन्दै आपत्ति जनाए ।

सांसद महेन्द्रराय यादवले हुलाकी राजमार्गअन्तर्गत् सर्लाहीखन्डको काम तत्काल प्रभावकारीरुपले सुचारु नगरे आउँदो वैशाख १ गतेदेखि सडकमा उत्रिने चेतावनी दिए ।

सांसद रामबाबुकुमार यादवले मधेसमा सामान्य व्यापारीहरुमाथि विभिन्न बहानामा राज्यले दमन गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सांसद बृजेशकुमार गुप्ताले भ्रमण वर्ष घोषणा गरेपनि सरकारले लुम्बिनी क्षेत्रलाई उपेक्षा गरेको भन्दै आपत्ति जनाए ।

सांसद भीमसेनदास प्रधानले टुँडिखेल बचाउन स्थानीयले गरेको प्रयासप्रति सरकारको ध्यानाकर्षण नभएको भन्दै गुठी विधेयकको विरोधमा जस्तै टुँडिखेल बचाउन मानवसागर उतार्ने चेतावनी दिए ।

यस्तै, बैठकको शून्य समयमा सांसद लालबाबु पण्डितले नागरिकता विधेयक तत्काल पारित गर्न माग गरे ।

सांसदहरु विनादेवी बुढाथोकी, सत्य पहाडी, समिना हुसेन, लालकाजी गुरुङलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।