
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्कीको ललितपुरको सानेपास्थित आफ्नै घरमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
थप अनुसन्धानका लागि कार्कीको घरमा सवैतिर सीसी टीभी जडान भएकाले त्यसको फुटेजको पनि अध्ययन भईरहेको प्रहरीले जनाएको छ ।
सोमबार विहान घरको भान्सामा रक्ताम्य अवस्थामा फेला परेकी उनलाई स्थानीय स्टार अस्पतालमा पुर्याइएकोमा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
पूर्वसचिव कार्की विहान उठेर पशुपतिनाथ दर्शनका लागि गएको र साढे ११ बजेतिर घर फर्किदा श्रीमतीलाई भान्सामा रक्ताम्य अवस्थामा फेला पारेका थिए ।
त्यसपछि घटनास्थल पुगेको प्रहरीले अचेत अवस्थामा रहेकी मुनालाई सानेपाको स्टार अस्पतालमा पुर्याएको थियो ।
कार्कीको घरमा काम गर्न बसेका दाङका २२ बर्षिय युवक विजय चौधरी पनि झुण्डिएर आत्महत्या गरेको अवस्थमा फेला परेका छन् ।
भान्सासंगैको बार्दलीको रेलिङमा झुण्डिएका चौधरीको शव भने डोरी चुँडिएर भुईमा लडेको अवस्थामा फेला परेको थियो ।
घटनाको छानविन अघि बढाएको प्रहरीले कामदार चौधरीले पिर्काले हानेर मुनाको हत्या गरेको आशंका गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट कामदार चौधरीले मुनालाई पछाडिबाट प्रहार गरेर घाइते बनाएको र अत्याधिक रक्तश्रावका कारण उनको मृत्यु भएको देखिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्