
मकवानपुर । हेटौँडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष’ तयार गरेको छ ।
वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ ।
सो भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुई वटा कोठा छुट्याएकोे छ ।
अस्पतालमा हाल दैनिक पाँचदेखि सात सयको हाराहारीमा बिरामी सेवा लिन आउने गरेका छन् ।
सेवा लिन आउने बिरामीमा कोरोना भाइरसको लक्षण हालसम्म देखिएको छैन ।
भाइरसको लक्षण देखिए तत्काल रगतको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।
अस्पतालले उपचारका लागि आउने बिरामीलाई सो भाइरससम्बन्धी सचेतना समेत गराइराखेको छ ।
प्रतिक्रिया दिनुहोस्