Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


डा.केसीसँग सम्झौता गरेर देउवाले विद्यार्थी सप्लाई गर्नेहरूलाई साथ दिए : अध्यक्ष ओली

'इज्जत छोड्ने हो भने कहिल्यै पनि सरकारबाट हट्नुपर्दैन'

1.2k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थी सप्लाई गर्नेहरूलाई साथ दिएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीसँग नौ बूँदे सम्झौता गरेर देउवाले विदेशमा विद्यार्थी सप्लाई गर्नेहरूलाई साथ दिएको टिप्पणी गर्नुभयो ।

नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढने सपना बर्बाद पारेको उहाँको आरोप छ ।

डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाइदा पु¥याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गर्नुभयो ।

अध्यक्ष ओलीले सरकारकै कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको र बैंकहरूमा तरलता अभाव देखिएको दावीसमेत गर्नुभयो ।

ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति संकेत गर्दै इज्जत नभएकाहरू सधैं सरकारमा रहको भन्दै व्यंग्य गर्नुभयो ।

‘अलिकति इज्जत छोड्ने हो भने त जहिले पनि सरकारबाट हट्नुनपर्ने अवस्था छ, जस्तो प्रचण्डजीहरू हट्नुहुन्न,’ उहाँले भन्नुभयो, ‘म हुँदा पनि उहाँहरू सरकारमै हुनुहुन्थ्यो, कांग्रेस हुँदा पनि सरकारमै हुनुहुन्छ, अर्को हुँदा पनि सरकारमै हुनुहुन्छ ।’

आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढ्ने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको उहाँको जिकिर छ ।