व्यावसायिक मेवाखेतीमा तनहुँका किसान वसन्त आले, एकैपटक ३५ सय बाेटबाट सुरू « Image Khabar


व्यावसायिक मेवाखेतीमा तनहुँका किसान वसन्त आले, एकैपटक ३५ सय बाेटबाट सुरू


1.69k
Shares

तनहुँ । तनहुँका युवा कृषितर्फ आकर्षित हुँदै गएका छन् । विदेश गएर परिश्रम गर्नुभन्दा स्वदेशमै कृषि गरे आम्दानी पनि हुने र परिवारसँगै बस्न पाइने भएकाले पनि जिल्लाका युवाहरू कृषि कर्ममा लागेका हुन् ।

व्यास नगरपालिका–१३ बेलबासका कृषक वसन्त आलेले व्यावसायिक मेवाखेती गर्नुभएको छ । उहाँले छिमेकीको ३५ रोपनी जग्गा भाडामा लिएर मेवाका विरुवा लगाउनुभएकाे हाे ।

करिव ३५ सय विरुवा ल्याएर राेपेकाेमा केही बोट ओइलाए पनि अधिकांश बोटमा मेवाले राम्रो फल दिन थालेकाे छ । पहिलो पटक मेवाखेती गर्नुभएका उहाँलाई व्यवसायबारे अन्याेल र डर कायमै थियाे ।

तर, अहिले लटरम्मै मेवा फलेको देख्दा उहाँ दङ्ग पर्नुहुन्छ । अहिले थाैरै मात्रामा मात्र पाकेकाले स्थानीय बजारमा लगेर बिक्री गर्ने गरेको आले बताउनुहुन्छ । धेरै भएपछि भने काठमाडाैंसम्म पुर्‍याउने उहाँकाे साेच छ ।

जिल्लामै व्यवसायिक रूपमा मेवाखेती गरिएकाे याे पहिलोपटक हो । एउटै मेवा दुईदेखि तीन किलोसम्मको फलेकाे र एउटै बोटमा एक सयभन्दा बढी मेवा फल्ने आलेकाे अनुमान छ ।

फल राम्रो लाग्ने र टिपेकाे पन्ध्र दिनसम्म नबिग्रने भएकाले उहाँले नयाँ र हाइब्रिड मेवा खेती गर्नुभएकाे हाे । स्थानीय जातको मेवा दुई/तीन दिनमै गल्ने गरेकाे छ ।

आलेले उत्पादन गरेकाे मेवा स्थानीय बजारमा बिक्री गर्न थालेसँगै भारतमा उत्पादित मेवा आयात गर्न नपर्ने भएकाे एक स्थानीय व्यापारीकाे भनाइ छ ।

कृषिमा लागेका युवाहरूलाई अझ बढी आकर्षित गर्न पालिकाले सहयोग गर्नुपर्ने स्थानीय युवा शंकर पौडेल बताउँछन् । विदेश जाने लहड चलिरहेकाे बेला गाउँमै बसेर कृषितर्फ आकर्षित हुनु सकारात्मक कदम भएकाे भन्दै उहाँ सहयाेगका लागि आग्रह गर्नुहुन्छ ।

दश वर्षका लागि जग्गा भाडामा लिनुभएका आलेले मेवाखेतीका लागि करिव दश लाख रुपैयाँ खर्च गरिसक्नुभएकाे छ । उहाँले सोही क्षेत्रमा बाख्रा तथा पाडापालनका लागि खोर तथा गोठ निर्माण गर्ने योजना समेत बनाउनुभएकाे छ ।