नबराज छत्कुली, धादिङ ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम सुरु भएको छ । सडक पहिरिएको १५ दिनमा ट्रयाक तयार गरी यो काम थालिएको हो ।
भदौ १४ गतेको बाढीले तटीय क्षेत्र कटान गरी सडक भासिएपछि ठप्प भएको यातायात सेवा असोज १ गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको प्राविधिकहरूले बताएका छन् ।
सडकको दिगोपनका लागि पानी नजम्ने गरी नाली निर्माण गर्नुका साथै सवारीसाधन सहज रूपमा सञ्चालन गर्न ग्राभेलिङको काम अगाडि बढाइएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिए ।
करिब एक सय मिटर सडक भासिएपछि त्यसलाई पार गराउन करिब तीन सय मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको छ ।
सडक विभाग र प्राविधिक टोलीको अध्ययनअनुसार अवरुद्ध क्षेत्र जोड्न भिरतर्फ करिब ३० मिटर उचाइबाट चट्टान काटेर नयाँ मार्ग निकालिएको हो । सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन र निर्माण व्यवसायीको संयुक्त प्रयासमा अहिले त्यस क्षेत्रमा पर्याप्त जनशक्ति र उपकरण परिचालन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्