Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


विद्यालयकाे दिवा भोजनमा तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाउने बेलायत सरकारकाे तयारी

बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा

104
Shares

एजेन्सी । बेलायत सरकारले विद्यालयको दिवा भोजनमा ‘डीप फ्राइड’ अर्थात बढी तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाउने भएको छ।

यो एक दशक भन्दा बढी समययता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबै भन्दा ठूलो परिवर्तन हो । नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्द्धन गरिने बीबीसीले जनाएको हाे । अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइनेछ भने ‘ब्रेकफास्ट क्लब’ हरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ । साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख गरिएकाे हाे।

‘एशाेसिएशन अफ स्कुल एन्ड कलेज लिडर्स’ (एएससीएल) ले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूलाई हप्काउने वा दबाब दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ । सरकारले यी परिवर्तनहरू सन् २०२७ देखि लागू हुने जनाएकाे हाे। तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च व्यहोरिनेछ ।

नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केकजस्ता गुलिया परिकारहरूलाई अब हप्तामा दुई पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा एक पटकमा सीमित गरिनेछ । साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफूलको एक भाग पनि अनिवार्यरूपमा तयार गर्नुपर्नेछ । ह्याम, ससेज र चिकेन नगेट्सजस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको हाे।  यीनका साथमा तरकारी वा फलफूल अनिवार्यरूपमा समावेश गर्नुपर्ने भएकाे हाे ।

शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ ।