भैंसेपाटीमा निर्माणाधिन मन्त्री निवासको ६६ प्रतिशत काम सकियो « Image Khabar


भैंसेपाटीमा निर्माणाधिन मन्त्री निवासको ६६ प्रतिशत काम सकियो


221
Shares

काठमाडौं, पुष ६ । ललितपुरको भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्रीहरुको लागि बनाइएको निवासको काम ६६ प्रतिशत सम्पन्न भएको छ ।

मंगलबार राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिले गरेको अनुगमनका क्रममा समितिलाई कार्यप्रगति बारे जानकारी दिँदै आयोजना निर्देशक दिलिप श्रेष्ठले संघीय मन्त्री निवास निर्माणको काम ६६ प्रतिशत भएको बताउनुभयो ।

निर्देशक श्रेष्ठले निवास निर्माण गर्दै गर्दा स्थानीयहरुको अवरोध तथा कोरोना महामारीको कारण निर्माण कार्यमा ढिलाई भइरहेको बताउनुभयो । उहाँले अवरोध हटाउनको लागि सरकारी तहबाट काम भइरहेको भन्दै चाडै स्थानीयको समस्या समाधान गरेर एउटा निर्णय गर्ने बताउनुभयो । निर्देशक श्रेष्ठले मन्त्री निवासको भवनहरु तयार भइसकेको तर, भवनको भित्रि सजावटको काम मात्रै बाँकी हरेको बताउनुभयो । उहाँले सजावटको लागि टेण्डर निकाल्न बाँकी रहेकाले एक महिनामा टेण्डर निकालेर ६ महिना भित्र सजावटको बाँकी काम सक्ने योजना रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षको असार मसान्तसम्ममा संघिय मन्त्री र प्रदेश प्रमुख तथा मुख्यमन्त्री आवास तयार गरी सक्ने बताउनुभयो ।

अनुगमनपछि समितिमा बोल्दै राष्ट्रिय सभाका सांसद् बामदेश गौतमले संघिय मन्त्री ,राष्ट्रिय सभाअध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभा उप–सभामुख निवास उपयुक्त स्थानमा नभएको बताउनुभयो । सांसद् गौतमले विश्वका कुनै पनि देशमा मन्त्रालय,संसद भवन भन्दा लामो दुरीमा मन्त्री निवास नहुने बताउनुभयो । उहाँले अहिले बन्दै गरेको मन्त्री निवासबाट मन्त्रालयमा जानको लागि कम्तिमा पनि आधा घण्टा लाग्ने बताउनु भयो । गौतमले मन्त्रालयबाट बस्ने निवास धेरै टाढा भएको बताउनुभयो ।

त्यस्तै, दिनानाथ शर्माले निवास निर्माणमा भएको अवरोध हटाउनको लागि ललितपुर महानगरपालिकाका मेयर तथा जनप्रतिनिधिहरुसँग बसेर यहाँको समस्या र समाधानको विषयमा छलफल गर्नु पर्ने बताउनुभयो । शर्माले संघिय मन्त्री निवास सांसदहरुको लागि निवास बनाउनको लागि छुट्याएको जमिन भएको बताउनुभयो ।

सरकारले ललितपुरको भैंसेपाटीमा मन्त्री आवास निर्माणको लागि २०७६ कार्तिक २७ गते स्रिको हनुमान जेभीसँग सम्झौता गरेको थियो । उक्त सम्झौतामा आयोजनाको निर्माण अवधि २ वर्षको अवधि तोकेको थियो । सम्झौता २ वर्ष तोकिए पनि कोरोनाका कारण ६ महिना म्याद थप भएको छ । सरकारको सम्झौता भए बमोजिम उक्त आयोजनाको कार्य गत कार्तिकमै सम्पन्न गर्नुपर्ने हो । तर, कोरोनाले निकै असर परेकाले सरकारले ६ महिना म्याद थपेको समय अनुसार निर्माणको कम्पनी श्रीको हनुमान जेभीले आगामी वैशाखसम्ममा कार्य सम्पन्न गर्नुपर्ने छ । तर, आयोजना निर्देशकले असार मसान्तसम्म सक्ने लक्ष्य रहेको बताउनुभयो छ । मन्त्री निवास निर्माणको लागि निर्माण कम्पनि श्रीको हनुमान जेभीसँग २ वर्षअघि ९६ रोपनी १० आना जग्गामा काम गर्न १ अर्ब ३ करोड ४६ लाख रुपैयाँमा सम्झौता भएको थियो । सरकारले सो क्षेत्रमा २४ वटा संघीय मन्त्री निवास, राष्ट्रिय सभाको अध्यक्षको निवास, राष्ट्रिय सभाको उपाध्यक्षको निवास र उपसभामुखको निवास गरी २७ वटा ब्लक निर्माण गरिने भएको छ ।

दुई चरणमा निर्माण हुने आवासको पहिलो चरणमा २७ वटा भवन, कम्पाउण्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिरहेका छन् भने दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल समेत बन्ने छ । त्यस्तै,समितिले मंगलबार नै सिहदरबार भित्र बन्दै गरेको संघिय संसद भवनको पनि अवलोकन तथा निरीक्षण गरेको छ । सिंहदरबार भित्र रहेको सेनाको ब्यारेकलाई हटाइ सरकारले १ सय ७३ रोपनी ८ आना जग्गामा संघीय संसद भवनको निर्माण गरिरहेको छ ।

संघीय संसद भवनको निर्माणका लागि शेक जेभीसँग २०७६ असोज १६ गते निर्माण सम्झौता गरेको थियो । भौतिक प्रगति सुस्त गुनासो आए पछि समितिले चासो देखाएर निर्माण अनुगमन गर्न गएको हो । संघीय संसद भवनको निर्माण अहिले सम्म ४० प्रतिशत भन्दा कम नै रहेको छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्नुपर्ने संघीय संसद भवनको निर्माणको कूल लागत ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ रहेको छ । सरकारले हाल बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसदको दुवै सदन संचालन गर्दै आएको छ ।