Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


देशका विभिन्न स्थानमा बाढी तथा पहिराेका कारण मुख्य राजमार्ग अवरूद्ध (सूचीसहित)


0
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएकाे हो ।कोशी प्रदेशअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-७ झोलुङ्गेपुल क्षेत्रमा मदन भण्डारी लोकमार्ग एकतर्फी सञ्चालनमा छ ।बागमती प्रदेशमा काभ्रेको कुशकोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा पहिरोको जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा समस्या छ । रसुवामा मुख्य राजमार्गको सडक पूर्णरूपमा अवरुद्ध रहेको हाे ।

नुवाकोटमा शिवपुरी गाउँपालिका-८ ठूलखोलास्थित टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोका कारण रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। विदुर नगरपालिका-१० सिमटारमा पासाङल्हामु सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएकाे हाे। धादिङको बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।

त्यस्तै, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका-३ खत्रो क्षेत्रमा चामे–बेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ खारेखेतमा कर्णाली करिडोर पनि पूर्णरूपमा अवरुद्ध रहेको सडक विभागले जनाएको हाे । विभागका अनुसार अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त स्थानमा यातायात व्यवस्थापनको काम भइरहेको छ।