२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘रसुवामा ‘कोरोनाभाइरस’का संक्रमित फेलापरेका छैनन्’


0
Shares

रसुवा, माघ १७ । रसुवा जिल्लामा ‘कोरोनाभाइरस’का संक्रमित बिरामी हालसम्म फेला नपरेको चिकित्सकले बताएका छन् ।

रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले नेपाल–चीन छिमेकी देशबीचका नागरिक आवत–जावत गर्ने सीमा क्षेत्र भएपनि जिल्लामा कोरोनाभाइरसका बिरामी हालसम्म फेला नपरेको स्पस्ट गरे ।

चिकित्सकको प्रमाणितबेगर अन्य कुनैपनि व्यक्तिले यो रोग र त्यो रोग भनी व्याख्या गर्नु गलत हुने हुँदा कोही कसैले गरेका टीका–टिप्पणी एवं हल्लाको पछि नलाग्न रसुवावासीलाई आग्रह गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

उपचारका क्रममा अस्पताल आएका एक बिरामीको कोरोनाभाइरसको आशंका भन्ने बिहीबारको हल्ला पुष्टि नभएको र उनको थप उपचारार्थ उपकरणयुक्त काठमाडौंस्थित टेकु अस्पताल पठाइएको रसुवा अस्पतालले जनाएको छ ।

उपचारार्थ आउने बिरामीमध्ये जटिल अवस्था भएकालाई परीक्षण उपकरणको अभाव अवस्थामा मात्र काठमाडौं पठाइएको र अन्यको उपचार स्थानीय अस्पतालमा भइरहेको अस्पतालले जनाएको छ ।

हिमपातको असरले रसुवामा चिसो बढिरहेका कारण ज्वरो तथा रूघाखोकीजस्ता समस्या बढ्नसक्ने भएकाले चिकित्सकको प्रमाणितबेगर त्रास फैलिनेखालका हल्ला नगरिदिन सम्बद्ध सबै पक्षसँग विनम्रतापूर्वक आग्रह गरिएकोसमेत डा. खरेलले बताए ।

चीनमा फैलिएको उक्त भाइरस सीमा क्षेत्रबाट नेपालमा सर्न नदिन यही माघ १५ गतेदेखि १५ दिनका लागि चिनियाँ अधिकारीले रसुवागढीदेखि केरूङसम्मको २४ किलोमिटर राजमार्ग क्षेत्रको आवत–जावतमा रोक लगाइसकेको सीमा सुरक्षा अधिकारीले बताएका छन् ।

सीमा क्षेत्रका चिनियाँ अधिकारीले आवत–जावतमा रोक लगाएपछि माघ १५ गतेदेखि सवारी–साधन र मानिसको आवत–जावत पूरै रोकिएको र सामान खरिदका लागि मितेरी पुलपारि गढीबजारसम्म आवत–जावत भने भइरहेको बताइएको छ ।

चीनसँग सिमानासँग जोडिएको भएपनि रसुवामा भाइरसको संक्रमण हालसम्म नभेटिएको र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् रोग नियन्त्रणका लागि सीमा क्षेत्रमै विभिन्न प्रयास भइरहेकाले हल्लाको पछि नलाग्न रसुवावासीलाई आग्रह गरिएको सहायक प्रजिअ सपनाकुमारी भट्टराईले बताइन् ।

भर्खरै प्राप्त जानकारीअनुसार रसुवा अस्पतालले गएराति पठाएको बिरामीको समस्या परीक्षण गरी हेर्दा उनलाई कोरोनाभाइरस नभइ दमको पुरानो समस्याले ज्वरो तथा खोकी लागेको पाइएको स्वास्थ्य मन्त्रालय सरूवा रोग नियन्त्रण महाशाखा टेकुका सरूवा रोग विषेशज्ञ डा. अनुप बास्तोलाले जानकारी दिए । रासस