अध्यक्ष दाहालको अभिव्यक्ति असान्दर्भिक : पूर्वअध्यक्ष पौडेल « Image Khabar


अध्यक्ष दाहालको अभिव्यक्ति असान्दर्भिक : पूर्वअध्यक्ष पौडेल


429
Shares

काठमाडौं, मंसिर २८ । इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिनु भएको अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गर्नु भएको छ ।
पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनि अध्यक्ष दाहालले केही दिन अघि दिनु भएको अभिव्यक्ती बिडम्बनापूर्ण भएको पूर्वअध्यक्ष पौडेलले बताउनुभयो ।

पौडेलले उद्योग व्यवसाय गर्न आवश्यक पूँजी निर्माण, बजारमा छरिएर रहेको पुँजी संकलन गर्ने र उद्यमशीलताको विकास पुँजीबजारले गर्छ भन्ने मान्यता राख्ने लगानीकर्ताको लागि दाहालले अभिव्यक्ति विल्कुल गलत तथा समय सान्दर्भिक नभएको बताउनुभयो ।

पौडेलले पछिल्लो ७३ दिनमा नेपाली शेयर बजारको पुँजी ३० प्रतिशतले घटेको बताउनुभयो । पछिल्लो समय लगानीकर्ताले प्रत्येक दिन १६ अर्ब ६६ करोड रुपैयाँ नोक्शानी भोगिरहेको पौडेलले बताउनुभयो । नेपालको इतिहासमा छोटो समयमा शेयर बजार यति धेरै घटेको पहिलो पटक भएको पनि बताउनुभयो ।

यसैगरी, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले दाहालको अभिव्यक्ति साना लगानीकर्ताको मर्म विपरित भएको बताउनु भएको छ । अध्यक्ष पोखरेलले शेयरमा लगानी गर्ने लगानीकर्ता पुँजीपति मात्रै नभएको बताउनुभयो ।

उहाँले पछिल्लो समय शेयर बजार पुँजीपति वर्गले मात्रै नभएर सडकमा बसेर साग बेच्ने देखि गृहिणी र विद्यार्थीको लागि समेत भएको बताउनुभयो । ४६ लाख लगानीकर्ताको आम्दानीको स्रोत नै पुँजी बजार भएकाले पुँजीबजारलाई लक्षित गरेर टिप्पणी गर्नाले माओवादीको भोटमा समेत असर गर्ने सक्ने उहाँले बताउनुभयो ।