७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


विष्णुमति लिंकरोडको अतिक्रमणले लोकेश्वर महादेव खण्डहरमा परिणत (भिडियो)


13
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । मानव सभ्यताको विकाससँगै नेपालमा विभिन्न सभ्यताको विकास भएको थियो । विगतमा मुख्य रूपमा बौद्ध, शैव, शाक्त र बैष्णव धर्मको सन्तुलित विकास भएको देखिन्छ ।

त्यसैअनुरुप विहार, गुम्बा, मठ–मन्दिरको पनि निमार्ण गरिए । तर, विडम्बना पुर्खाको नासो पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदा अहिले खण्डहरमा परिणत हुँदै गइरहेका पनि छन् । यसैमध्ये काठमाडौं वडा नम्बर १३ खुसीबहीमा रहेको महादेवको मन्दिर भग्नावशेषमा परिणत भएको धेरै वर्ष वित्दा पनि कसैको ध्यान पुग्न सकेको छैन ।

लोकेश्वर र धनेश्वर महादेवको नामले चिनिएको ढुंगाबाट मात्र बनेको मन्दिर पूर्ण रूपमा खण्डहर बनेको छ । यहाँको इतिहास झल्काउने शिलालेख हराएको छ । भैरव सहितको महत्वपूर्ण विभिन्न मूर्तिहरू चोरी भएको छ । मन्दिरको रोपनीका रोपनी जग्गा व्यक्तिको नाममा गएको छ । नित्य पूजा रोकिएको पनि वर्षौं भइसक्यो ।

मन्दिरको शिलामा लेखिएको तिब्बती लिपी ।

२२ सालको नापीअनुसार मन्दिर परिसरको जग्गा नै एक रोपनीभन्दा बढी थियो । तर, अहिले विष्णुमति लिङ्करोड र अतिक्रमणमा परेर खुम्चिएको छ । करिब २ सय ६० वर्ष अगाडि निर्माण भएको मन्दिर चिकंमुगलको वासिन्दाले निर्माण गरेको र यंगालका बाहुन परिवार पूजारी रहेको जनाइन्छ ।

तर, यस मन्दिरको पुरातत्व विभागसँग कुनै जानकारी र अभिलेख पनि नभएको स्थानीय बताउँछन् । हाल स्थानीय खड्गी परिवारले मन्दिरको रेखदेख गर्दै आएका छन् । मोहनलाल खड्गी वर्षौदेखि मन्दिरको हेरचार गर्दे आएको र पुरानै स्वरूपमा पुनःनिर्माणको लागि पहल भइरहेको बताउनुहुन्छ ।

पुरातात्विक महत्वका सामाग्री हराइसकेको र चोरी भइसकेकोले यसको शुक्ष्म रूपमा अनुसन्धान हुनुपर्ने स्थानीयको माग छ । मन्दिरभित्र तिब्बती अक्षरमा लेखिएको शिला रहेको छ । नाम पनि लोकेश्वर महादेव भएकाले यसको अनुसन्धानबाट तिब्बतसँगको पुरानो सम्बन्धमा पनि नयाँ तथ्य आउनसक्ने देखिन्छ ।

खुसीबहीमा रहेको सुनले लेखिएको तिब्बती लिपी ।

मन्दिरसँगै रहेको बौद्ध विहार खुसीबहीमा समेत तिब्बती लिपीमा सुनले लेखेको बौद्ध ग्रन्थ अष्टसहस्रीका प्रज्ञापारमिता सुरक्षित रहेको छ । मन्दिरको अनुसन्धान गरेर मात्र पुरानै स्वरूपमा पुनःनिर्माण गर्न आवश्यक देखिन्छ ।