लयमा फर्कँदै चिडियाखाना, पशुपंक्षी हेरचाहको जिम्मा लिन प्रशासनको आग्रह « Image Khabar


लयमा फर्कँदै चिडियाखाना, पशुपंक्षी हेरचाहको जिम्मा लिन प्रशासनको आग्रह

प्रधानन्यायाधीशले दुई वटा बाघ, ओलीले गैंडा र पर्यटनमन्त्री आलेद्वारा हात्ती पालनको जिम्मा


मालती घोरासैनी
काठमाडौं । राजीनामाको चौतर्फी दवाव झेलिरहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बाघप्रेमी हुनुहुन्छ भन्ने थोरैलाई थाहा होला । सदर चिडियाखाना जावलाखेलमा रहेका दुईवटा बाघ उहाँको पालनपोषणमा बाँचिरहेका छन् ।

राणा मात्र हैन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा गैंडा र पर्यटनमन्त्री प्रेम आलेले हात्ती पालनको जिम्मेवारी लिनुभएको छ । ठूलाबडामा देखिएको जनावर प्रेमले समाजमा सकारात्मक सन्देश दिएको छ ।

चिडियाखानामा रहेका ७३ पशुपंक्षीको पालनपोषण ५४ जनाको जिम्मामा छ । कोभिडपछि आम्दानीको स्रोत गुमाएको चिडियाखाना प्रशासनले त्यहाँका पशुपंक्षी जोगाउन भरणपोषणका लागि सार्वजनिक अपिल गरेको थियो । दुई बाघको भरणपोषण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले लिनुभएको छ । यसका लागि उहाँले वार्षिक एक लाख बुझाउनुहुन्छ ।

यसैगरी गैंडाको सम्पूर्ण खान्कीको प्रबन्ध पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिनुभएको छ । उहाँले पनि वार्षिक एक लाख खर्चिनुहुन्छ । ओली सरकारका पालामा वनमन्त्री रहेका प्रेम आलेले हात्तीको खानपान खर्च जुटाउने घोषणा गर्नुभएको थियो । हाल पर्यटनमन्त्री हुँदासम्म त्यो क्रमलाई निरन्तरता दिनुभएको छ ।

डाक्टर सुन्दरमणि दीक्षित परिवारले भालु, मृग, घोरल, निलगाई लगायत ८ पशुपंक्षीको जिम्मेवारी लिनुभएको छ । यसका लागि उहाँले वर्षेनी पाँच लाख दश हजार खर्च गर्नुहुन्छ । यसैगरी देश विदेशमा बसोबास गर्ने पशुपंक्षी प्रेमी नागरिक समेत यो अभियानमा सहभागी छन् ।

लक्ष्मी बैंक, मेघा बैंकले समेत जनावर जिम्मेवारी बहन गरेका छन् । यो अभियानबाट उत्साही चिडियाखाना प्रशासनले बाँकी जनावर पालनपोषणको जिम्मेवारीका लागि समेत आग्रह गरेको छ । चिडियाखानाका सूचना अधिकारी लीना चालिसे, पशुपंक्षीको पालनपोषणको जिम्मेवारी अन्य व्यक्तिले पनि दिइदिए प्रशासनलाई सहज हुने बताउनुहुन्छ ।

जनावरको हेरचाहका लागि व्यक्तिगत र संस्थागत सहयोगको आव्हान गरेको कोषले पशुपंक्षीको खानपानका लागि वार्षिक २ करोड खर्च हुने बताएको छ । कोभिडका कारण चिडियाखानाले दर्शकको आम्दानी गुमाउँदा चरम संकट झेल्दा दक्ष जनशक्ति गुमाउनुपर्‍यो ।

दैनिक १० हजार दर्शक आउने चिडियाखानामा कोभिडको सुधारिएसँगै आगन्तुक बाक्लिएका छन् । यहाँको वातावरणबाट प्रफुल्लित उनीहरू सुधार गनुपर्ने पक्षको बारेमासमेत सुझाव दिएका छन् ।

ऐतिहासिक चिडियाखानामा विश्वकै दुर्लभ प्रजातिका पशुपंक्षी रहेका छन् । त्यसैले मानवअधिकार मात्र हैन, पशुअधिकारका विषयमा समेत विश्वभर बहस चलिरहेका अवस्थामा यिनीहरूको पालनपोषणमा उदार मन आवश्यक छ ।