डोलराज रानाभाट
चितवन । आज लक्ष्मी पूजा । भरतपुर १९ का रामचन्द्र कँडेल गौ पुजनका लागि परिवार सहित भरतपुर १ बागेश्वरी मा भेटिनुभयो । मिठा–मिठा खानेकुरा सहित गौ पूजामा उहाँ व्यस्त हुनुहुन्छ । धर्मका प्रतिक गाई भएकाले संस्कृतिको जगेर्नाका लागि गौपूजा गरिएको उहाँ बताउनुहुन्छ ।
बागेश्वरीका कर्मचारीलार्ई आज गाईलाई मिष्ठान्न परिकार खुवाउन भ्याइनभ्याइ छ । गाईलाई आजको दिन लक्ष्मीको स्वरुपमा पूजा आजा गर्ने चलन छ । गहुँ, मकै, जौ, तिल, नुन लगायतका सात प्रकारका वस्तुहरुको मिश्रण खुवाउँदा गाई आरोग्य हुने मान्यता रहेको उहाँको भनाइ छ ।
तर, राष्ट्रिय जनावरको रूपमा समेत रहेको गाई पछिल्लो समय लोप हुदै गएको आभास हुन थालेको छ । गाई पाल्ने किसानहरू उन्नत जातको गाई पालनमा रुपान्तरण हुनु र राज्यनै गाई संरक्षणामा उदासिन हुँदा सनातन धर्मका अनुयायीहरू चिन्तित देखिन्छन् ।
देवघाट क्षेत्रविकास समितिका पुर्व अध्यक्ष टशंकनाथ पौडेलले राष्ट्रिय जनावरको हत्या हुदा पनि गौ संरक्षणमा सरकारले चासो नदिएको गुनासो गर्नुहुन्छ । दुधका लागि उन्नत जातको गाईपालन गर्दा स्थानीय जातका गाईको प्रजाति नै हराउने चिन्ता उहाँको छ ।
राष्ट्रिय जनावर स्थानीय जातको गाई भएकाले यसको संरक्षणमा वागेश्वरी आश्रम निरन्तर लागिरहेको छ । गुरु योगी नरहरिनाथ को भावना र लक्ष्यलाई आत्मसाथ गर्दै अहिले २ सय ५० वटा गाई पालन गरिरहेको महसचिव भोजराज भट्टराई बताउनुहुन्छ ।
दिवस र चाडपर्व मात्रै आउँदा गाईलाई सम्झने तर अन्य समय राष्ट्रिय जनावरको हत्या हुने, बेवारिस हुँदा पनि ध्यान नदिने कारणले राष्ट्रिय जनावर हराउँदै जाने खतरा त्यतिकै छ । गाईलाई लक्ष्मी पूजाको दिनमा मात्र सम्झने र अन्य दिन बेवास्ता गर्दा गाई संरक्षणमा ध्यान पुग्न नसकेको मात्र हैन, पवित्रतात्मक स्वरूपको गाई प्रतिको निष्ठा पनि हराउँदै जान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्