२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


‘अव्यवहारिक’ निर्णय तत्काल फिर्ता लिन स्टिल व्यवसायीको माग


0
Shares

काठमाडौं । स्पन्ज आइरनमा लगाउँदै आएको भन्सार दर हटाउने र आयातित ब्लेडमा अन्तःशुल्क बढाउने निर्णय तत्काल फिर्ता लिन सरकारमाथि तीव्र दवाव परेको छ ।

स्टिल व्यवसायीहरूले तत्काल निर्णय सरकारले फिर्ता नलिए नेपालमा रहेका ३० मध्ये २४ वटा स्वदेशी स्टिल उद्योग ६ महिनाभित्र बन्द हुने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा साखः स्टिल प्रालिका प्रबन्ध निर्देशक किरण प्रकाश साखः र पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले ६ वटा उद्योगलाई मात्रै केन्द्रित गरेर स्पन्ज आइरनमा लगाउँदै आएको भन्सार दर हटाउने सरकारको निर्णय देशको हितमा नरहेको बताउनुभयो ।

साखः स्टिलका प्रबन्ध निर्देशक किरण प्रकाश साखःले निर्णय जति छिटो सुधारियो, त्यति छिटो राष्ट्रलाई फाइदा हुने बताउनुभयो । समितिका सदस्यहरूले पनि स्वदेशी उद्योगलाई बन्द गराउने गरी सरकारले निर्णय गर्न नमिल्ने उल्लेख गर्दै सो सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल तत्काल गर्नुपर्ने बताउनुभएको छ ।

समिति सदस्य सुरेन्द्र पाण्डेले अन्तःशुल्क घटाउने पाउने व्यवस्था रहेको उल्लेख गर्दै अर्थ मन्त्रालयसँग छलफल गरेर निर्देशन दिनुपर्ने बताउनुभयो । समितिका सदस्यहरुले स्वदेशी उद्योगलाई धराशायी बनाउने सरकारका कुनै पनि निर्णय मान्य नहुने चेतावनी समेत दिएका छन् ।