Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


रसुवा बाढीले पुर्‍याएकाे क्षतिकाे यथार्थपरक विवरण बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन


0
Shares

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले रसुवाकाे भोटेकोशी नदीमा आएकाे बाढीले पुर्याएकाे क्षतिकाे बारेमा यथार्थपरक विवरण बनाउन निर्देशन दिनुभएकाे छ।

अर्थ मन्त्रालयमा मंगलबार साँझ आयोजित एक कार्यक्रममा बाेल्दै उहाँले योजना आयोग लगायत सरोकारवाला निकायहरूलाई यस्तो निर्देशन दिनुभएकाे हाे। योजना आयोगले बाढीले पुर्‍याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत र प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ।

सोही खाकाका प्रारम्भिक विवरणहरूलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न मंगलबार सरोकारवालाहरूसँग अर्थमन्त्री वाग्लेले छलफल गर्नुभएकाे हाे। राष्ट्रिय योजना आयोगले भौतिक सम्पत्तिमा पुगेको क्षतिको आरडीएनए गर्न चार फरक(फरक क्षेत्रमा छुट्याएर मूल्यांकन गरिएको बताएको छ। जसमा सामाजिक, उत्पादनमूलक, पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरी मूल्यांकन शुरु गरिएको हाे।

त्यस्तै, उत्पादनमूलक क्षेत्रअन्तर्गत कृषि, मत्स्य, पशुपन्छी, वित्तीय र आर्थिक गतिविधिको मूल्यांकन भइरहेको छ। जलविद्युत आयोजना र प्रसारण लाइन, घरायसी हरित ऊर्जाको उपयोग, सडक, पुल, दूरसञ्चार, वातावरणीय स्वास्थ्य तथा सिँचाइ एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्यांकन गरिएको हाे।

सोही प्रतिवेदनको आधारमा सरकारले तत्कालीन राहतको व्यवस्थादेखि लगानीको स्रोत जुटाउने र पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाउनेछ।