२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


पुनःनिर्माणको अनुभव संकलन गरी सुरक्षित गरिने


0
Shares

काठमाडौं, पुस २५ । २०७२ सालपछिको पुनःनिर्माणको अनुभव संकलन गरी भावी पुस्ताका लागि सुरक्षित गर्ने निर्णय राष्ट्रिय पुनःनिर्माण परामर्श परिषद्ले गरेको छ ।

प्रधानमन्त्री सचिवालयमा शुक्रबार बसेको परिषद्को पाँचौं बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रस्तावसहित तीनओटा प्रस्ताव राखेकामा बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले अहिलेसम्मको पुनःनिर्माण सन्तोषजनक रहेको ठहर गर्दै बाँकी कामहरु सकेसम्म छिटो गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्री ओलीले पुनःनिर्माण उल्लेखनीय भएको भन्दै सामाजिक जागरणलगायतका सुधारहरु आवश्यक रहेको औंल्याए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हालसम्म गैरसरकारी संस्थाहरुसमेतको गरी पुनःनिर्माणमा तीन खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको जानकारी दिए ।

दातृनिकायहरुबाट दुई खर्ब ३८ अर्ब सहयोगका लागि सहमति भएको र त्यसको ८१ प्रतिशत रकम प्राप्त हुनेक्रममा रहेको जानकारी उनले दिए ।

बैठकमा परिषद्का अन्य सदस्यहरुले साँस्कृतिक, धार्मिक सम्पदाहरुको पुनःनिर्माणमा विशेष ध्यान दिनुपर्ने, भूकम्पप्रभावित १४ जिल्लामा खोपानी योजना प्रभावकारी हुनुपर्ने, निजी घर निर्माणमा ध्यान दिनुपर्ने, तल्लो तहका प्रभावितहरुले घर नबनाएपनि अनुदान रकम फिर्ता लिन नहुने, काठमाडौं उपत्यकामा ‘स्मार्ट सिटी’ आवश्यक नभएकोलगायतका सुझाव दिएका थिए ।