सुन्तला बेचेर चार लाख सम्म आम्दानी, सरकारी सुविधाबाट भने वञ्चित - Image Khabar
Everest Bank

सुन्तला बेचेर चार लाख सम्म आम्दानी, सरकारी सुविधाबाट भने वञ्चित

– जितेन्द्र भण्डारी/इमेज

पाँचथर । व्यावसायिक सुन्तला खेतीमा लागेका पाँचथरका कृषकले सरकारबाट अपेक्षित सहयोग हुन नसकेको गुनासो गरेका छन् । खाद्यान्न बालीभन्दा सुन्तला खेतीलाई नै प्राथमिकतामा राखेर अघि बढिरहेका कृषकहरुलाई बजारको समस्या नभए पनि सरकारको भूमिका भने सन्तोषजनक देखिएको छैन ।

पाँचथरको दक्षिणी भेगअन्तर्गत पर्ने कुम्मायक गाउँपालिका ४ रानीगाउँ सुन्तला खेतीले पँहेलपुर बनेको छ । अधिकांश कृषकहरु खाद्यान्न बाली छाडेर सुन्तला खेतीमा होमिएपछि उनीहरुको जीवनस्तर पनि माथि उठ्न थालेको छ । बारीभरी लटरम्म सुन्तला फलेको देखेपछि व्यापारीहरु पनि खरिद गर्न बारीमै पुग्ने गरेका छन् ।

कोहीले त सुन्तलासँगै अदुवा, कोदो, मकैलगायतका वाली पनि सँगै उत्पादन गरिरहेका छन् । सुख्खाग्रस्त क्षेत्र भए पनि सुन्तलाका लागि अनुकूल भएकाले यस क्षेत्रका कृषकले वार्षिक प्रतिपरिवार २ लाखदेखि ४ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।

सुन्तलाबाटैै अहिले सम्पूर्ण खर्च व्यवस्थापन गरिरहेको कृषक राजु खतिवडाको भनाइ छ । कुम्मायक गाउँपालिकामा पर्ने साविक रानीगाउँ, मिक्लाजुङ गाउँपालिकाको कुरम्बा, लिम्बा, दुरदिम्बा, तुम्वेवाको हाङगुम, फाल्गुनन्दको आङसराङ, याङवरकको नाँगी, फिदिम नगरपालिकाको रानीटार, माथिल्लो गाउँमा कृषकहरुले व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् ।

गत वर्षको तुलनामा यो वर्ष ३ सय मेट्रिक टन सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्ट बताउँछन् । सुन्तला खेतीमा कृषकहरुको आकर्षण बढे पनि उत्पादन प्रवद्र्धन गर्ने तथा कृषकलाई उत्साहित गराउने किसिमका कार्यक्रम ल्याउन सकिएको छैन । 

 

प्रतिक्रिया दिनुहोस्