१० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी « Image Khabar


१० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी



एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने चेतावनी दिनुभएका छन् ।

टर्कीका लागि अमेरिकासहित १० मुलुकका राजदूतले थुनामा रहेका नागरिक समाजका एक अगुवाको समर्थनमा संयुक्त विज्ञप्ति निकालेपछि एर्दोगानले देश निकाला गर्ने चेतावनी दिनुभएको हो ।

सोमबार पश्चिमा मुलुकका १० राजदूतले संयुक्त विज्ञप्ति जारी गरेका थिए । बिरलै जारी हुने संयुक्त विज्ञप्तिमा समाजसेवी एवं अभियन्ता ओस्मान काभालालाई थुनामा राख्ने कार्यले टर्कीमाथि ग्रहण लागेको उल्लेख छ ।

अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘काभालाको मुद्दा न्यायसंगत ढंगले तत्काल समाधान’ गर्न दवाब दिइएको छ । संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्टै ती राजदूतलाई टर्कीको विदेशमन्त्रालयमा बोलाइएको थियो ।

अभियान्ता काभालालाई बिना कसुर टर्कीले २०१७ देखि थुनामा राखेको छ । काभालामाथि २०१३ को सरकारविरोधी प्रदर्शन र २०१६ को असफल ‘कु’सँग जोडेर विभिन्न आरोप लगाइएको छ ।