केन्यामा २४ लाख मानिसलाई जटिल खाद्यान्न अभाव हुने खतरा रहेकाे डब्ल्यूएफपीको चेतावनी « Image Khabar


केन्यामा २४ लाख मानिसलाई जटिल खाद्यान्न अभाव हुने खतरा रहेकाे डब्ल्यूएफपीको चेतावनी


0
Shares

एजेन्सी । केन्यामा अबको एक/दुई महिनामा कम्तीमा २४ लाख मानिसलाई जटिल खाद्यान्न अभाव हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले चेतावनी दिएको छ ।

उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेका कारण कात्तिक, मंसिरसम्ममा २४ लाख मानिसलाई जटिल खाद्यान्नको अभाव हुने भन्दै चेतावनी दिएको हो । पूर्वी अफ्रिकी देशहरुमा हालैका वर्षहरुमा एकपछि अर्को विपत्तिले अर्थव्यवस्थालाई धराशायी बनाएको छ ।

डिसेम्बर २०१९ मा सलहको आक्रमण तथा सन् २०२० र २०२१ मा परेको खडेरीका कारण खाद्यान्नको आपत्कालीन अवस्थाको सामना गर्नुपरेको अवस्था आएको हो । राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गएको महिना खडेरीलाई प्राकृतिक विपत्तिको रूपमा घोषणा गरेकाे थियो ।

त्यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेकाे बताइन्छ । संयुक्त राष्ट्रसङ्घीय निकाय डब्ल्यूएफपीको प्रक्षेपण अनुसार गएको वर्षभन्दा यो वर्ष तीन गुणा बढी मानिस भोकमरीको चपेटामा पर्ने सम्भावना छ । गएको वर्षको कात्तिक र मंसिर महिनामा साढे आठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए ।