एमाले विधान अधिवेशनको तयारी पूरा : ६ हजार बढी सहभागी हुने, स्वास्थ्य मापदण्ड भरपर्दो रहेको दाबी « Image Khabar


एमाले विधान अधिवेशनको तयारी पूरा : ६ हजार बढी सहभागी हुने, स्वास्थ्य मापदण्ड भरपर्दो रहेको दाबी


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । छ हजार बढी प्रतिनिधिको सहभागितामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ ।

सम्मेलनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।

शनिबार समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने र आइतबार दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सूझाव एवं उठेका विषय स्पष्ट पार्दै निष्कर्ष निकालिने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीबाट चुनिएका प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेश सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहभागी हुनेछन् ।

यस्तै, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उप–प्रमुख, जनसंगठन र पेशागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ संगठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्यहरूले प्रतिनिधित्व गर्ने नेता भट्टराईले बताउनुभयो ।

यस्तै एमालेले प्रतिनिधि चयनमा महिला, जनजाती, दलित र अन्य समूदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइने बताएको छ ।

मूल सभाहलमा ३ हजार प्रतिनिधि, दायाँ–बायाँको खाली हलहरूमा एक/एक हजार प्रतिनिधिहरूको लागि बस्ने व्यवस्था गरिएको छ । यस्तै, हलको दायाँ–बायाँ, प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर आवश्यक पर्न सक्ने एक/एक हजार क्षमताको संरचना निर्माण गरिएको छ ।

महाधिवेशन सम्पन्न गर्न अनेरास्ववियु, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघबाट दुई सयको संख्यामा स्वंयसेवकहरूको व्यवस्था गरिँदा प्रतिनिधिहरूलाई सातदोबाटोमा झन्डासहित बसबाट सम्मेलन केन्द्रसम्म पुर्‍याउने व्यवस्था गरिएको एमालेले जनाएको छ ।

काठमाडौं जिल्ला प्रशासनले बिहिबार मात्रै कोरोना महामारीका बीच सभा, जुलुस कार्यक्रमहरु नगर्न आदेश जारी गरिरहँदा एमालेले महामारीप्रति संवेदनशील हुँदै सुरक्षा मापदण्डका मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाएको बताएको छ ।