काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको दावी गर्दै तत्काल खारेज गर्न माग गर्नुभएको छ ।
सोमबार राष्ट्रियसभाको बैठक अवरोध गर्नुअघि आफ्नो दलको तर्फबाट धारणा राख्नेक्रममा एमाले सांसद गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई क्रान्तिकारी नेताको संज्ञा दिँदै कालो धनलाई सेतो धन पार्ने विषय प्रतिस्थापन विधेयकमा किन राखेको भन्दै प्रश्न गर्नुभयो । उहाँले सो प्रावधान संविधान र प्रचलित कानुन अनुसार पनि बदरभागी हुने भएकाले तत्काल खारेज गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
‘मैले माननीय अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । उहाँ बडो क्रान्तिकारी नेता हुनुहुन्छ । म उहाँलाई राम्ररी चिन्दछु । अध्यक्ष महोदयमार्फत् म उहाँलाई सोध्न चाहन्छु–यो क्रान्तिकारिता, यो सहुलियत, यो कालोधनलाई यत्रो दिनदहाडै सेतो पार्ने कुरा कहाँको क्रान्तिकारिता हो ?’ उहाँले प्रश्न गर्नुभयो, ‘म उहाँलाई भन्न चाहन्छु–कुन श्रमजीवि जनताका लागि यो सहुलियत दिईदैछ ? म सोध्न चाहन्छु । र म यो निवेदन गर्न चाहन्छु कि अध्यक्ष महोदयमार्फत् कि वास्तवमा यो प्रावधान खारेज हुुनुपर्छ । संवैधानिक रुपबाट पनि यो बदरभागी छ । यो बदर हुनुपर्छ ।’
यस्तै गुरुङले प्रतिस्थापनमा निश्चित पेशा र व्यवसाय गर्नेलाई आयकर तथा मूल्य अभिवृद्धि कर मिनाह हुने व्यवस्था गरिएकोमा आपत्ति जनाउनुभयो । विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्तकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्त भित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था छ ।
सांसद गुरुङले सत्ता पक्षले संसदलाई सहज ढंगले अघि बढाउन पहल नगरेकाले आफूहरुले अवरोध गरिरहनु परेको पनि स्पष्ट पार्नु भयो ।
प्रतिक्रिया दिनुहोस्