
बिराज रोस्यारा (इमेज)
कैलाली, पुस १२ । सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा विशेष धुमधामका साथ मनाइने भुवा पर्व बिहीबारदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष पौष कृष्ण औंसीका दिनदेखि सुरु हुने यो पर्वको सन्दर्भ महाभारतको युद्ध र त्यसको विजयोत्सवसँग जोडिएको छ ।
त्रेतायुगमा पान्डव र कौरव पक्षको लडाइँमा युद्ध जितेको पान्डव पक्षले विजयको खुसियाली मनाएको दिनलाई सम्झँदै भुवा पर्व मनाइने गरिएको छ ।
विशेषगरी सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछामलगायतका जिल्लामा यो पर्व तीनदेखि पाँच दिनसम्म मनाइने गरिन्छ ।
ढाल–तरबारसहित युद्धकला प्रदर्शन गर्दै नाचिने यो पर्व मनाउनका लागि अधिकांश मानिस गाउँ–गाउँमा फर्किसकेका छन् । यसलाई बडादसैंपछिको ठूलो महत्वपूर्ण पर्वकारुपमा मनाइने गरिएको छ ।
युद्धको समयमा कौरव र पान्डवबीच भएको भिडन्तको कथालाई एक समूहले नाच्दै लयात्मक शैलीमा भट्याउने र अर्काे समूहले हात र खुट्टाको चालमा नाच्ने गर्दछन् । त्यसलाई ‘भस्सो’ भनिन्छ ।
त्यस्तै, घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर ‘छैँट’ माग्ने चलन छ । बच्चालाई आशीर्वाद दिइ गाउँलेलाई भोज गराइने चलन छ ।
पान्डव र कौरवको लडाइँका क्रममा रात परेपछि पनि राँको सल्काइ युद्ध जारी रहेको स्मरण गर्दै मध्यरातमा राँकेजुलुस निकाल्ने चलन रहेको बाजुरेली समाज धनगढीका अध्यक्ष चेतबहादुर थापाको भनाइ छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा विशेष रौनक देखिने यो पर्व पछिल्लो समय पहाडबाट तराईतिर बसाइँ सर्नेहरुका कारण तराईमा पनि मनाउन थालिएको छ ।
यस पर्वले पर्यटन प्रवर्द्धनमासमेत सहयोग पुगेको बताइन्छ ।
आफ्नै मौलिक पहिचान र संस्कृति बोकेको यस पर्वको संरक्षणका लागि सरोकारवाला पक्ष र सरकारले पनि पहल गर्नुपर्नेमा सुर्मादेवी समाज कैलालीका अध्यक्ष दिलबहादुर खातीको भनाइ छ ।
पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभावमा परेर हाम्रा मौलिक चाडपर्व र संस्कृति ओझेलमा पर्न थालेका छन् । आफ्ना मौलिक पहिचान र संस्कृतिलाई जीवन्त राख्न सोही समुदायका व्यक्तिहरु सबैभन्दा बढी सक्रिय बन्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्