Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


सुकुम्बासी परिवारको निःशुल्क जीवन बिमा


273
Shares

काठमाडौं ।

पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्बासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ।

आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुम्बासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले लिवर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा ४४ परिवारको निःशुल्क जीवन बिमा गरिदिएको हो।

दैनिक जीविकोपार्जनमै सङ्घर्ष गरिरहेका परिवारलाई आकस्मिक दुर्घटना, बिरामी वा मृत्युजस्ता जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

विशेषगरी वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सुकुम्बासी तथा न्यून आय भएका परिवारलाई लक्षित गरी बिमा सुविधा उपलब्ध गराइएको हो।

वडाध्यक्ष सन्तोष बास्तोलाले सामाजिक सुरक्षाको पहुँच सबै नागरिकसम्म पुर्याउने अभियानअन्तर्गत उक्त कार्यक्रम ल्याइएको बताउनुभएको छ । । ‘दुर्घटना वा अन्य अप्रत्यासित घटनाले विपन्न परिवारलाई झन् ठूलो समस्यामा पार्ने गर्दछ। त्यस्ता परिवारलाई न्यूनतम आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले जीवन बिमा कार्यक्रम सञ्चालन गरेका हौँ’, उहाँले भन्नुभयो ।

म्यादी जीवन बिमा कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति वार्षिक रु २५० बिमा शुल्कमा रु एक लाखसम्म उपचार सुविधा र बीमित व्यक्तिको मृत्यु भएमा परिवारले रु एक लाख ५० हजारसम्म राहत रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ।

वडा कार्यालयले यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ५० हजार बजेट विनियोजन गरेको थियो। न्यून शुल्कमा उपलब्ध हुने यो सुविधाले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको वडा सदस्य शान्ति कोइरालाले बताउनुभयो ।