काठमाडाैं । रसुवा-नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा ४० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सामान आयात भएको छ ।
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएकाे जनाएकाे हाे । यस नाकाबाट खासगरी सामग्रीमा तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, हाइड्रोपावरका उपकरण तथा विद्युतीय सवारीसाधन लगायत वस्तु आयात हुँदै आएको कार्यालयले जानकारी दिएकाे छ ।
रसुवागढी नाका प्राचीनकालदेखि नै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक मार्गका रूपमा परिचित रहँदै आएको छ । लिच्छवी तथा मल्लकालदेखि नै व्यापारीले यही मार्ग प्रयोग गरी नुन, ऊन, जडीबुटी तथा अन्य सामग्रीको कारोबार गर्ने गरेको इतिहास छ । आधुनिक सडक सञ्जाल विस्तारसँगै रसुवागढी नाका अन्तर्राष्ट्रिय व्यापारको महत्वपूर्ण केन्द्र बनेको हो ।
भन्सार कार्यालयले साेही अवधिमा नेपालबाट भने करिब ९० करोड मूल्य बराबरका वस्तु निर्यात भएको जनाएकाे हाे । उक्त नाकाबाट हुने आयात तथा निर्यातबाट चालु आर्थिक वर्षको हालसम्म १० अर्ब ८० करोड राजस्व संकलन भएको छ । यसैबीच पछिल्लो समय विद्युतीय सवारीसाधनको जाँच पासका सम्बन्धमा उठेका प्रश्नकाे बारेमा ‘प्रचलित भन्सार ऐन तथा नियमावलीले पैठारीकर्तालाई अग्रिम रूपमा राजस्व बुझाउने सुविधा दिएको कार्यालयले जनाएकाे हाे ।
तोकिएको प्रक्रिया अनुसार राजस्व संकलन भएकाले राज्यलाई कुनै आर्थिक हानि–नोक्सानी नभएको कार्यालयकाे दावी छ। रसुवागढी नाकाले मुलुकको राजस्व वृद्धि, व्यापार विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कार्यालयले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्