१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


विधान महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्न ओलीको आग्रह

दश बुँदे सहमति कार्यान्वयनमा असमानता देखाएको सदस्यहरूको आरोप

0
Shares

ललितपुर, असोज ८ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलमा शुरु भएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष केपी ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

आन्तरिक र राष्ट्रिय राजनीतिका समस्यामाथि छलफल जरुरी रहेको भन्दै उहाँले आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र स्थानीय निर्वाचनको तयारीमा जुट्न पनि उहाँको आग्रह थियो ।

केन्द्रीय सदस्य प्रभु साहले भने एमालेलाई नेकपाको निरन्तरताका रूपमा व्याख्या गर्दै जनताको जनवादलाई परिस्कृत गर्नुपर्ने आठ बुँदे परक प्रस्ताव राख्नुभयो । एकताको महाधिवेशन गर्नुपर्ने साहको मत छ ।

अर्का सदस्य सदस्य झपट रावलले दश बुँदे सहमति कार्यान्वयन नगरेर अध्यक्ष ओलीले पार्टीभित्र असमानताको स्थिति पैदा गरेको आरोप लगाउनुभयो । पार्टी एकताको जगलाई कमजोर बनाउँदै असमान स्थिति पार्टीभित्र किन पैदा हुन खोज्दैछ भन्ने प्रश्न रावलले ओलीलाई गर्नुभयो ।

दुई दिनसम्म चल्ने बैठकले विधान महाधिवेशनमा पेश गरिने अध्यक्ष ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन अनुमोदन गर्नेछ ।

सोही प्रतिवेदनलाई असोज १५ देखि १७ गतेसम्म बस्ने विधान महाधिवेशनमा पेश गरिने छ । यसअघि आइतबार र सोमबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले सुझाव दिएका थिए ।