एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ ।
यी दुई नेताबीच जलवायु परिवर्तन, अस्ट्रेलियासँग भएको सुरक्षासम्बन्धी ओकस सम्झौतासहितका विषयमा कुराकानी भएको बताइएको छ ।
भेटमा व्यापारका मुद्दामा पनि छलफल भएको ठानिएको छ । बेलायतले अमेरिकासँग व्यापार सम्झौताको तयारीमा रहेको बुझिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतसँगको व्यापार सम्झौताबारे छलफल जारी रहेको बताइएको छ ।
युरोपियन युनियनबाट बाहिरिएको बेलायतले उत्तरी आयरल्याण्डसँगको शान्ति प्रक्रियामा कुनै असर नपार्न पनि बाइडेनले चेतावनी दिनुभएको छ । बेलायती प्रधानमन्त्री जोन्सनले यसअघि आउँदो आम चुनावअघि अमेरिकासँग व्यापार सम्झौता हुनसक्ने कुरा खुलाउनु भएको थिएन ।
बाइडेन र जोन्सनबीच यसअघि जी सेभेन सम्मेलनको क्रममा प्रत्यक्ष भेटवार्ता भएको थियो। यस्तै यही वर्ष ग्लासगोमा हुने कोप २६ मा पनि दुई नेताबीच भेट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्