अक्कल कुँवर
काठमाडौं । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले आइतबार क्रियाशील सदस्यता विवाद रहेका बाँकी १३ जिल्लाको विवाद समाधान गरे पनि ती जिल्लाको वडा अधिवेशनमा अन्योल देखिएको छ ।
विवाद समाधान भएको भने पनि समितिले सोमबार अपरान्हसम्म क्रियाशील सदस्यको सूची केन्द्रीय निर्वाचन समितिमा बुझाएको छैन । ढिला गरी क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएका कारण त्यसको असर प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न १३ जिल्लाको वडा अधिवेशनमा परेको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक रहेको समितिले आइतबार प्रदेश २ का ८ जिल्लासहित रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यता विवाद समाधान गरे पनि ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।
पछिल्लो कार्यतालिका अनुसार बाँकी रहेका २० जिल्लाको वडा अधिवेशन असोज ५ गतेलाई तय गरिएकाे छ । तर, २० जिल्लामध्ये १३ जिल्लाको वडाअधिवेशन मंगलबार हुने सम्भावना नरहेपछि त्यसको असर निर्वाचन कार्यतालिकामा परेको छ । तर, केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लाको कारण निर्वाचन कार्यतालिका प्रभावित नहुने जिकिर गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव, १३ जिल्लाका वडाहरुमा हुने अधिवेशनको सम्भावना नभएको बताउनुहुन्छ । ‘तत्काल कार्यतालिका प्रभावित हुँदैन,’ उहाँ भन्नुहुन्छ, ‘१३ जिल्लाको कारण कार्यतालिका प्रभावित नगर्न हामीले प्रयास गर्छौं ।’
कांग्रेसले भदौ १८, २२ र २५ गरी ५७ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । काठमाडौंसहित ७ जिल्लाको वडा अधिवेशन मंगलबार हुँदैछ । कांग्रेसले असोज ९ मा गाउँ–नगर अधिवेशन गर्ने कार्यतालिका तय गरे पनि सबै जिल्लामा वडा अधिवेशन नभएकोले गाउँ–नगर अधिवेशन पनि प्रभावित हुने देखिएको छ ।
गाउँ–नगर अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने भएकाले, गाउँ–नगर अधिवेशन हुन सबै जिल्लाभित्र वडा अधिवेशन भइसक्नुपर्छ । तर, केन्द्रीय निर्वाचन समिति भने पुनः निर्वाचन कार्यतालिका परिमार्जन गर्ने पक्षमा छैन । विवाद आएका जिल्ला र वडाका अधिवेशन कसरी गर्ने विषयमा दशैंअघिसम्म निर्णय लिइने निर्वाचन समितिका संयोजक यादव बताउनुहुन्छ ।
अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएकाहरूलाई दिइएको क्रियाशील सदस्यता र केन्द्रबाट सिधै क्रियाशील सदस्यता दिएपछि कांग्रेसमा लामो समयदेखि विवाद हुँदा पटक–पटक कार्यतालिका प्रभावित हुँदै आएको छ । कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौमा १४ औं महाधिवेशन गर्ने तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्