२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


७ सय ५० कर्मचारी रहेको अस्पतालमा छैन पार्किङ, सडकमा थुपार्दा जाम र दुर्घटना बढ्दो


0
Shares

डोलराज रानाभाट
चितवन । संघीय सरकार मातहतको भरतपुर अस्पतालसँग ३१ विघा जमिन छ । अन्य संघसंस्थालाई भाडामा दिएर पनि अस्पतालसँग अहिले १२ विघा जमिन बाँकी छ । यद्यपि अस्पतालसँग व्यवस्थित पार्किङको सुविधा छैन । जसको असर सडकमा देखिन्छ । सडकभरी अस्पताल आएका बिरामी, कुरुवा र भेट्नेहरूको सवारी लाइन लाग्छन् ।

गम्भीर प्रकृतिका बिरामीबाहेक भरतपुरमा अटो र मोटरसाइकल मार्फतनै बिरामी अस्पताल आइपुग्छन् । तर, बिरामीलाई जचाउन भन्दा पार्किङ गर्ने ठाउँ खोज्दा–खोज्दै आफन्त र चालक हैरान हुन्छन् । सडकको किनारतर्फ अटोलाई पार्किङ गर्ने स्थान त तोकिएको छ । तर, मोटरसाइकल पनि त्यहीँ पार्किङ गर्दा ठाउँ नै नपाइले अटो चालक हरि श्रेष्ठ बताउनुहुन्छ ।

एम्बुलेन्सलाई २ नम्बर गेटको बाँयातर्फ पार्किङको व्यवस्था छ । तर, साँघुरो ठाउँ भएकाले पर्याप्त छैन । केही समय मोटरसाइकल र अटोलाई सोही गेटबाट सजिलै प्रवेश गर्न दिइएको थियो । तर, व्यवस्थित नहुँदा परिसर नै कुरुप देखिएपछि पुनः पार्किङमा रोक लगाइयो । अस्पालबाहिरै पार्किङ गर्दा सवारी जामको समस्या त छ नै, दुर्घटनाको जोखिमसमेत बढेको छ ।

बिरामीलाई सेवा दिने ठाउँमा मात्रै होइन प्रशासनिक क्षेत्रको वरपर पनि चिकित्सकहरूको सवारी यत्रतत्र छन् । अस्पतालमा ७ सय ५० कर्मचारी र स्वास्थ्यकर्मी छन् । उनीहरूको सवारी पार्किङले अस्पतालको सौन्दर्यमा कमी ल्याउनुको साथै बिरामी ल्याएर ट्याक्सी र अटोका चालक समस्यामा परेका छन् ।

पार्किङको समस्या अचाक्ली भएपछि बल्ल अस्पताल प्रशासनको ध्यान गएको छ । खुला पार्किङलाई व्यवस्थित गराउनेतर्फ अस्पतालको ध्यान गएको छ । दुई नम्बरको गेट वरपर भएको जग्गालाई व्यवस्थित गरेर पार्किङको व्यवस्था गरिने प्रवक्ता डाक्टर युवानिधि बसौला बताउहुन्छ ।

नयाँ मेडिकल सुपरीटेन्डेन्टको आगमनसँगै अस्पतालमा सुधारका संकेत देखा परेका छन् । पार्किङलाइ व्यवस्थित गराउने कामको सुरुवातसँग अस्पतालले दिने सेवा समय समेत बढाउने योजना रहेको अस्पतालले जनाएको छ । यसलाई तीव्र गतिमा कार्यान्वयन गर्दै जानु त छँदैछ, भद्रगोल बन्दै गएको सरकारी अस्पताल सुधार भएको हेर्न सबै आतुर छन् ।