एजेन्सी । अफगानिस्तानमा हालै मात्र सरकार बनाएको तालिबानभित्रै आन्तरिक विवाद देखिएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार नयाँ सरकारबारे तालिबानका सह संस्थापक मुल्लाह अब्दुल बरादर र मन्त्रिपरिषद्का सदस्यबीच राष्ट्रपति भवनमा विवाद भएको हो ।
यसअघि नै बरादर सार्वजनिकरुपमा देखिन छाडेसँगै तालिबानभित्रै विवाद भएको अनुमान गरिएको थियो । तर, तालिबानले भने यसलाई अस्वीकार गर्दै आएको थियो ।
तालिबानले गत महिना अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको थियो । हालै मात्र उसले अफगानिस्तानमा नयाँ सरकारको घोषणा गरेको छ ।
उसको सरकारमा सबै पुरुष मात्र सामेल छन् र अधिकांश सदस्य तालिबानसँग निकट छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बरादर र शरणार्थी मन्त्री खलिल उर–रहमान हक्कानीबीच विवाद भएको हो ।
कतारस्थित तालिबानको कार्यालयका सदस्यले पनि गत साता अफगानिस्तानको राष्ट्रपति कार्यालयमा विवाद भएको पुष्टि गरेका छन् ।
स्रोतका अनुसार नयाँ सरकारको उपप्रधानमन्त्रीसमेत रहेका बरादर सरकारको संरचनाप्रति खुसी छैनन् । यो विवादपछि बरादर काबुल छाडेर कन्दाहार गएको बताइएको छ ।
तालिबानले आधिकारिकरुपमा भने बरादरसँग कुनै किसिमको विवाद नभएको बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्