मुलुक बजेटविहीन हुनुको मुख्य दोषी देउवा सरकार– डा. पुष्पराज कँडेल « Image Khabar


मुलुक बजेटविहीन हुनुको मुख्य दोषी देउवा सरकार– डा. पुष्पराज कँडेल


0
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेलले मुलुक बजेटविहीन हुनुमा सरकार स्वयं जिम्मेवार रहेको बताउनुभएको छ ।

विभिन्न राजनीतिक खिचातानी लगायत कारणले मुलुकले बजेट शून्यताको स्थिति सामना गर्न नपरोस् भनेर संविधानमा नै जेठ १५ गते बजेट संसदमा पेश गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दे उहाँले अहिले मुलुक बजेट शून्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको बताउनुभएको हो ।

बुधबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले सदन बन्द गरायो भन्ने आडमा टेकेर प्रतिपक्षलाई आरोप थुपार्दै बजेट खर्च गर्न पाइएन भन्ने छुट वर्तमान सरकारलाई नरहेको बताउनुभयो ।

नेकपा एमालेका नेता समेत रहनुभएका उहाँले सरकारले आफूलाई चाहिएको डकुमेन्ट बलजफ्ती पास गरिरहेको दाबी पनि गर्नुभयो । उहाँले बजेट अधिवेशन पार्टीलाई फुटाउनका लागि बन्द गरेर अर्को अध्यादेश ल्याउनुबाट सरकारको नियत भएको स्पष्ट भएको टिप्पणी गर्नुभयो ।

पूर्व उपाध्यक्ष कँडेलले सरकारको न्यूनतम साझा कार्यक्रम र प्रतिस्थापन विधेयक गन्तव्यहीन भएको पनि टिप्पणी गर्नुभयो । उहाँले प्रतिस्थापन विधेयक कुन परिवेशमा आधारित भएर ल्याईएको भन्ने नै स्पष्ट नभएको तर्क गर्नुभयो । उहाँले पुर्ववर्ती सरकारले १५ औँ आवाधिक योजनामा आधारित भएर र दलको घोषणा पत्रमा उल्लेख भएको न्यूनतम साझा कार्यक्रममा आधारित भई बजेट ल्याएको तर प्रतिस्थापन विधेयक भने आधारहिन देखिएको बताउनुभयो ।

पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले रचनात्मक हिसावले सहयोग गरिरहेको भन्दै मुल निर्णयकर्तामाथि प्रतिस्थापन विधेयकबारे पश्न उठेकोले मुल निर्णयकर्ताले नै समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिपक्षको समस्या समाधान नगरी सरकारले आफ्नो इच्छानुसार काम गरिरहेका बताउनुभयो ।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयक संघीय संसदबाट पारित नभएकाले मुलुक अहिले बजेटबिहीनताको अवस्थामा पुगेको हो । तर अर्थमन्त्री जनार्दन शर्माले भने केही दिन बजेटको शंकट परेपनि केही फरक नपर्ने बताउदै आउनुभएको छ । मुलुक बजेटबिहिन हुँदा अस्पताल, जेलर लगायत सरकारी कार्यालयमा हुने दैनिक खर्च ठप्प हुनेछ ।

पूर्ववर्ती सरकारले संविधानअनुसार जेठ १५ गते नै बजेट अध्यादेश ल्याएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमा कोरोनाबाट क्षति पुगेका ५ लाख परिवारलाई १० हजारको दरले बाँड्ने भन्नुभएको ५ अर्ब रुपैयाँको पनि दुरुपयोग हुने बताउनुभयो ।