माधव नेपाल र प्रचण्डको कमजोर धातुमा कांग्रेस जलप लगायो- नेता बस्नेत « Image Khabar


माधव नेपाल र प्रचण्डको कमजोर धातुमा कांग्रेस जलप लगायो- नेता बस्नेत

‘प्रतिनिधिसभा बुढो गाईजस्तो, न दुध खान मिल्छ न मासु’

Border circle
Imagekhabar

चितवन । नेकपा (एमाले)का नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कदमलाई कांग्रेसले साथ दिँदा देशमा राजनीतिक अस्थिरता सिर्जना भएको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी चितवनले शनिबार भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपाल र प्रचण्डको कमजोर धातुमा कांग्रेसले जलप लगाइदिएका कारणले अस्थिरता सुरु भएको बताउनुभयो ।

‘माधव नेपालको कुण्ठा, निराशा र चरम गुटबन्दीका कारण पार्टी फुटेको हो,’ उहाँले भन्नुभयो, ‘दल विभाजन भएकै कारण संसद चल्न सक्दैन भनिरहेका थियौं हामीले, अहिले आएर पुष्टि भएको छ ।’

माधव नेपालको कुण्ठा र केपी ओलीप्रति प्रचण्डको रिसिइवीले मुलुक राजनीतिक द्वन्द्वमा फस्न लागेको नेता बस्नेतले बताउनुभयो ।

प्रतिनिधिसभा बुढो गाइजस्तो भएकाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको नेता बस्नेतले बताउनुभयो । उहाँले प्रतिनिधिसभाबाट पटक–पटक सरकार बनाउने अभ्यास गर्दा सफल हुन नसकेपछि, कानुन बनाउन नसेपछि विघटन गरेको उहाँको भनाइ छ ।

‘संसद बुढो गाईजस्तो भयो, न दुध खान मिल्ने न मासु, त्यसैले विघटन गरियो,’ उहाँले भन्नुभयो, ‘तर, सर्वोच्चले अनौठो फैसला गर्यो ।’

प्रतिक्रिया दिनुहोस्