७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


एमाले सांसदले मागे नेतृत्वसँग एमसीसीबारे पार्टी धारणा, ओली भन्छन्–गठबन्धन सरकार लोकतन्त्र समाप्त पार्न लाग्यो


0
Shares

काठमाडौं, भदौं २३ । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे के गर्ने भन्दै सरकारसँग जवाफ मागिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेतृत्वलाई आफ्नै पार्टीका सांसदले यही प्रश्न सोधेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सांसदहरूले एमसीसीबारे पार्टीको धारणा के हो भन्दै प्रश्न गरेका हुन् । सांसद निरुदेवी पालसहितले एमसीसी के हुन्छ भन्दै प्रश्न गर्नुभएको हो ।

जनस्तरमा एमसीसीबारे विरोध बढेको भन्दै सांसदहरुले जनभावना अनुसार निर्णय लिइनुपर्ने बताएका थिए । सांसदहरुले एमसीसीप्रति अध्यक्ष ओली सकारात्मक हुनुको कारण जनताले सोधिरहेको पनि बताएका थिए ।

यसैबीच, बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले भने वर्तमान सरकार र सत्ता गठबन्धन लोकतन्त्रलाई समाप्त पार्न लागि परेको आरोप लगाउनुभयो ।

देश नै गम्भीर अवस्थामा पुगेको भन्दै ओलीले अनेक हिसाबले यो सरकारले लोकतन्त्रको हुर्मत लिन र समाप्त पार्न खोजेको आरोप लगाउनुभएको हो ।

सत्तामा दृष्टिकोणविहीन मानिसहरु पुगेकाले लोकतन्त्रको रक्षा नहुने भन्दै ओलीले भन्नुभयो, ‘कथित गठबन्धनमा लोकतन्त्र मास्न लागेकाहरू छन् । गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन सक्दैन ।’

अहिलेको सरकार लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाबाट नभई परमादेशबाट बनेकाले जनताप्रति उत्तरदायी नहुने पनि दावी गर्नुभयो ।

सभामुख अग्नि सापकोटाप्रति रोष प्रकट गर्दै ओलीले एमालेले कारवाही गरेका १४ संसदमाथिको सूचना ननिकालेर सभामुख पार्टीको लाचार छायाँ बनेको आरोप पनि लगाउनुभयो । छापामार शैलीमा संसद अधिवेशन बन्द गरेर अध्यादेश ल्याएको भन्दै उहाँले देउवा सरकारको चर्को आलोचना पनि गर्नुभयो ।