५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु, ६ घाइते


0
Shares

एजेन्सी । उत्तरी इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको छ । इराकको प्रान्तीय प्रहरी स्रोतले यसको पुष्टि गरेको छ ।

उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रान्तीय प्रहरीका अनुसार आईएस आतंकवादीले बगदादबाट लगभग २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–राशाद शहरको एउटा गाउँमा सङ्घीय प्रहरी चौकीमा आक्रमण गरेका हुन् ।

चौकीमा भएको आक्रमणपछि उनीहरूले गाउँतर्फ जाने सडक छेउमा शक्तिशाली विस्फोट गराएको र त्यही विष्फोटमा परी १३ प्रहरी मारिएका हुन् । आक्रमणपछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गरिएको थियो । सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आइएस समूहले आक्रमण तीव्र पारेको छ ।

यस क्रममा दर्जनौँ सुरक्षाकर्मी सर्वसाधारण र आइएस लडाकू समेतको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आइएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महशुस गरिएको थियो । तर आइएसले आफ्नो अस्तित्व देखाउनका लागि विभिन्न आक्रमण गर्दै आएको छ ।