दुर्गा उपाध्याय
कञ्चनपुर । प्राकृतिक विपत्ति सम्बन्धि पूर्व सूचना दिने प्रविधिले कञ्चनपुरमा बाढीबाट हुने जनधनको क्षति निकै कम भएको छ । गत शुक्रबार दोदा नदीमा आएको बाढीका बारेमा स्थानीयले पूर्व सूचना पाएकाले आवश्यक तयारी गर्न भ्याउँदा निकै कम मात्रै क्षति भएको हो ।
गत शुक्रबार मध्यरातमा कञ्चनपुरको पुर्नवास नगरपालिका– ५ सिमरीका दिनदयाल रानालाई आफन्तको फोन आयो । उनलाई दोदा नदीमा पानीको सतह बढेको भन्दै सर्तक हुन आफन्तले फोन गरेका रहेछन् । शुक्रबार मध्यरातमा सिमरीमा धेरै स्थानीयलाई पूर्वतयारीका लागि आफन्तका फोन आए । बाढी गाँउमा पस्ने निश्चित देखिएपछि उनीहरुले महत्वपूर्ण कागजात, खाद्यान्न सुरक्षित ठाँउमा सारे । पूर्वसूचनाले गर्दा आफूहरुलाई बाढीबाट हुने क्षति जोगाउन सहयोग गरेको पुर्नवास नगरपालिका– ५ सिमरीका हरिद्वारी चौधरीको भनाइ छ ।
बाढीबारे जानकारी दिन स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति समेत गठन गरिएको छ । समितिले नदीमा पानीको सतह र बहावका बारेमा तटीय क्षेत्रका जनतालाई सूचना दिने गर्छन् । त्यहि पूर्वसूचनाका आधारमा स्थानीयले पूर्वतयारी गर्ने गरेको स्थानीय दिनदयाल रानाको भनाइ छ ।
यसअघि २०६५ सालमा दोदा नदीमा आएको बाढीले लालझाँडीको गाउँ नै विस्थापित गरेको थियो । त्यतिबेला पूर्वसूचना नपाएकै कारण जनधनको क्षति भएपनि पछिल्लो समय भने पूर्वसूचनाले केही हदसम्म जोखिम कम भएको स्थानीय बताउँछन् । बाढीले सबैभन्दा बढी लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकामा अन्नबालीमा क्षति गरेपनि मानवीय क्षति भने जोगिएको थियो । यद्यपी तटीय क्षेत्रका स्थानीयमा भने रातीको समयमा सधै बाढीकै त्रास हुने गरेको स्थानीय फुला रानाको भनाइ छ ।
बाढीमात्र नभइ विपत्तीको समयमा पूर्वसूचना दिने व्यवस्थित माध्यम भए ठूलो धनजनको क्षति हुनबाट जोगिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्