२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


काठमाडौंका मुख्य सडकमै खाल्डाखुल्डी, दशैँअघि कालोपत्रे गरिसक्ने महानगरको भनाइ


13
Shares

दीपक श्रेष्ठ
काठमाडौं । काठमाडौं उपत्यकाका भित्री सडकमा मात्र नभएर मुख्य सडकमा समेत ठूला–ठूला खाल्डाखुल्डी देखिन थालेका छन् । खाल्डाखुल्डीका कारण सर्वसाधारणको आवतजावतदेखि सवारीसाधन चलाउन समेत अप्ठ्यारो भएको छ ।

अघिल्लो वर्ष लकडाउन र यस वर्ष निषेधाज्ञा अवधिमा सडक विभागले चिटिक्क पारेको सडक वर्षा सुरु नुहँदै भत्किन थालेका छन् । मेलम्चीको पानी चुहावट हुँदा खाल्डाखुल्डी देखिएको सरकारी अधिकारीको भनाइ छ ।

मर्मत गर्नेतर्फ काठमाडौं महानरपालिकामा छलफल भइरहेको प्रवक्ता ईश्वरमान डङ्गोल बताउनुहुन्छ । निषेधाज्ञाका कारण कामदारको अभाव भएकाले सडक स्तरोन्नति गर्न कठिनाइ भएको डङ्गोलको भनाइ छ । दशैँअघि सडक कालोपत्रे गरिसक्ने उहाँको प्रतिबद्धता छ ।

काठमाडौंको मुटु मानिने सुन्धारास्थित धरहरा वरिपरिको सडकमा नै ठूला–ठूला खाडल छन् । यस्ता ऐतिहासिक महत्व बोकेका क्षेत्रमा सर्वसाधारण हिड्नसमेत मुस्किल पर्नेगरी सडकको दुरावस्था हुँदा पनि सडक विभागको चासो देखिँदैन । काठमाडौं महानगरपालिकले ठेक्का लगाएको यो सडक खण्ड लामो समयदेखि मर्मत हुन सकेको छैन ।

महानगरपालिकाले पनि सडक मर्मतका लागि छलफलै मात्र चलाएर बसेको देखिन्छ । सडक कर दस्तुर बढ्दै गए पनि सर्वसाधारण सुविधायुक्त बाटोमा हिड्न र गुड्न पाएका छैनन् । सम्बन्धित पक्षको यसतर्फ ध्यान जानु आवश्यक छ ।