स्वास्थ्यप्रति राज्यको असंवेदनशील अनुहार ! • Image Khabar Image Khabar


स्वास्थ्यप्रति राज्यको असंवेदनशील अनुहार !


सन्जिव कार्की
२१ बैशाख २०७८, मंगलवार ०९:२४

स्वास्थ्यप्रति राज्यको असंवेदनशील अनुहार !

 सन्जिव कार्की 

निजीकरण र उदारीकरणको नाममा स्वास्थ्यलाई जब व्यापारको क्षेत्र र कम जोखिममा अकुत नाफा कमाउने व्यवसायको रूपमा बिकास गरियो बिस्तार गर्ने निति लिइयो तब सरकारी स्वास्थ सेवा धरासयी र निजि स्वास्थ सेवा व्यावसायिक प्रगतिको उकालोमा पुग्यो । शिक्षा र स्वास्थ्यको निजीकरण र व्यापारले आज दुवै क्षेत्र नाफाखोरहरुको कब्जामा परेर सम्पत्ति र पहुँच हुनेका लागि स्वास्थ र शिक्षा बनेको छ । केही पनि नहुनेको लागि नियति मात्रै । वास्तवमा यो नियतिको मर्जी र खेल नभएर अदुर्दर्शी राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ताको नियतको कारण भएको हो । राज्य संचालकले अख्तियार गरेको गलत नियत र नीतिको कारण आउने परिणाम नियतिको दोष हुन सक्दैन । गैरजिम्मेवार र गलत पात्र चयनको नतिजा आजको शिक्षा र स्वास्थको बेथिति हो । शिक्षा र स्वास्थ्य आज जुन हालतमा छ, त्यसले समग्र देशको स्वास्थ्य बारे जानकारी गराउँछ । देसको अर्थतन्त्र कस्को हातमा र कस्तो हालतमा छ देखाउँछ । 

कोभिड १९ को दोस्रो लहरले हाम्रो स्वास्थ्यको धरातल प्रष्टसँग देखाउदै छ। एक हप्तामा २००% ले सङ्क्रमण बढ्नु र मृत्युदर १% भन्दा बढी हुनु  नियन्त्रण बाहिर जाने सङ्केत हो । परिस्थिति काबु बाहिर पुग्दा आउने भयावह परिणामले सरकार र नीतिनिर्माताको आङ ढक्क फुलेर तदारुकता देखाउनु पर्ने हो तर सरकार सुस्त गति र मतिमा सिमित छ । सरकारको मुख चल्छ तर काम गर्ने हातखुट्टा चल्दैन। कोरोनाको पहिलो लहरबाट हामीले के सिक्यौ ? त्यसको समीक्षा जरुरी थियो तर सरकारलाई यता सोच्ने फुर्सद कहिले भयो र ? कोरोनाको पहिलो लहर पछि स्वास्थ्यको क्षेत्रमा के के सुधारहरु भए ? कति स्वास्थ्यकर्मी र अस्पतालहरु थपिए? कति अक्सिजन प्लान्टहरु निर्माण भए? कति आइसियु र भेन्टिलेटर थपिए? भएका के कति अस्पतालको स्तर उन्नती भए? मङ्सीर १५ गते एकैदिन शिलान्यास भएका ३९६ वटा अस्पतालहरुको निर्माण प्रकृया कहाँ पुग्यो ? भएका स्वास्थ्यकर्मीहरु कसरी काम गरिरहेका छन? पहिलो चरणमा आफैलाइ जोखिममा राखेर काम गर्ने हरुले के कति सुबिधा र प्रोत्साहन पाए ?अनि हामी  यी सब कुराको दोष कस्लाइ दिरहेका छौ ? जनताहरु कति सचेत भए ? जनस्वास्थ्यको मापदण्ड कति पालना भए? फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्य कर्मी र सुरक्षाकर्मीहरुलाइ हेर्ने दृष्टिकोण के कति बदलियो? एकचोटी सोचौ र मनन गरौ । 

जसले कोरानाबाट आफ्नाहरु गुमाए उनीहरुको लागि कोरोना एउटा बिनाशकारी अभिशाप महामारी हो। जस्ले आफ्नाहरुलाइ कैयौ दिन अस्पतालमा उपचार गरेर ल्याए उनीहरुको लागि कोरोना एउटा रोग हो । जस्को  आफ्ना नजिकका हरुलाइ केही भएको छैन उनिहरुको लागि यो नाटक र राजनीति हो। आजसम्म चिया पसलमा एक झुण्ड मान्छेहरु यो सब राजनीती हो मरेका मान्छेको किड्नी र आँखा बेच्ने खेल हो भन्दै थिए । यो हो हाम्रो चेतनाको स्तर । त्यसैले आफ्ना नजिककाहरुलाइ आफुलाइ पर्नु अघि  आफै सचेत बनौ। अब अस्पतालमा बेड र आइसियु मिलाइदिन पर्यो भन्दै दिनहु आउने कैयौ कलहरुको जवाफ दिन नेता डाक्टरले असमर्थता जाहेर गर्दा लज्जा कसलाई हुन्छ ? स्वास्थ्यकर्मीहरु नै असमर्थ भएर नाजबाफ बन्नु पर्दाको स्थिति कति भयानक छ ।  कोरोनासँग लडनु सरकार र जनताको साझा दायित्व हो । 

संक्रमण ब्यापक र भयावह बनिरहेको  छ दिनप्रतिदिन । कडा निवारक उपाय जारी राख्दै स्वास्थ्य संकटकाल लगाएर सरकारी-निजि अस्पताल, स्कूल कलेजहरु अन्य सरकारी/सामुदायिक भवनहरु र त्यसले पनि नपुग्ने देखिएमा खाली ठाउॅहरुमा प्रिफ्याब भवन बनाएर निश्चित समयका लागि करारमा डाक्टर र स्वास्थ्यकर्मीहरू भर्ना गरी आवश्यक औषधी, अक्सिजन र उपकरण व्यवस्था सहित ब्यापक उपचारात्मक उपाय पनि अवलम्बन गर्न सरकार र सम्बद्ध पक्षको बाटो कसले छेक्दैछ ? बिकास अर्कोपटक गरे पनि हुन्छ तर जीवन यो पटक असमयमा बिसर्जन गरियो भने अर्को जुनी पाइन्छ पाइन्न त्यो रहस्यमय नै छ तसर्थ यो जुनीमा अकालमा मर्नबाट जोगाउनु र जोगिनु सबैको दायित्व हो । बिकास निर्माण थाती राखेर भए पनि ज्यान जोगाउने प्रयत्न आजको प्राथमिकता र अनिवार्य शर्त हुनुपर्छ । उपचार भन्दा पहिले मृत्युु पहिले पालोमा पर्ने नियतिको शिकार आम मान्छे बन्ने स्थिति पैदा भै सक्यो । हिजो पहिलो कोरोना लहरमा जे गल्ती गरियो सो अहिले दोहोरिनु हुन्नथ्यो तर आज पनि हाम्रो चेत खुलेको छैन गल्ती सच्याउने होइन दोहोर्याउने गर्दैछौ । 

सरकार उपचार गर्न सक्दिन भनेर पटकपटक हात उठाउछ र संसार भर यस्तै हो हामीकहाँ मात्रै होर भनेर पन्छिन खोज्छ । जब दवाव बढछ तब अनेकन घोषणा गरिन्छ तर घोषणा कति कार्यन्वयन भए त्यसको अनुगमन गरिन्न । घोषणा फगत घोषणामा सिमित भएको कारण चिकित्सक स्वास्थ्यकर्मी लगायत यो क्षेत्रमा संलग्न भएर जोखिम मोलेर काम गर्नेको असन्तुष्टि र बिरोध प्रसस्त देखिएको थियो । महामारी प्राकृतिक प्रयोगशाला हो तसर्थ विगतबाट सिक्न नसक्नु चै बिडम्बनापूर्ण स्थिति हो । महामारीको उपचार र नियन्त्रण दुवै महत्त्वपूर्ण कुरा हो । सिमाबाट प्रवेश गर्ने सवालमा आज पनि अघिल्लो पटकको झैँ कमजोरी देखिएको छ । सिमामा निगरानी र उपचारात्मक प्रबन्धको अभाव सामान्य होइन असामान्य भएको छ । यसर्थ अब निम्न लिखित कुरा घोषणा गरेर होइन कार्यन्वयन गरेर देखाऔं । जुन कुरा बारेमा धेरै विज्ञ र आम मान्छेको माग छ । 

१) स्वास्थ्य सङ्कटकाल घोषणा गरौँ, निजी मेडिकल कलेज र अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गरौँ।
२) कोरोनाको उपचार निःशुल्क गरौँ।
३) सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई पिपिई, मास्क लगायत स्वास्थ्य सुरक्षा सामाग्री र घोषणा भएको तर नदिइएको स्वास्थ्यकर्मीको प्रोत्साहन भत्ता तुरुन्तै उपलब्ध गराऔँ।
४) सेना/प्रहरी र स्वयंसेवकहरूको सहयोगमा अस्थायी उपचार केन्द्र स्थापना गर्न पहल गरिहालौँ।
५) निवृत्त स्वास्थ्यकर्मीलाई स्वयंसेवाको आह्वान गरौँ।
६) आवश्यक स्वास्थ्य उपकरण, भ्याक्सिन ल्याउन चीनसहित अन्य राष्ट्रसँग थप पहल गरौँ।
७) लकडाउनका कारणले दैनिक छाक टार्नै गाह्रो भएका श्रमिकका लागी राहत प्याकेज उपलब्ध गराऔँ।
८) खोप कार्यक्रम पुनः सुचारु गरौँ। पिसिआर टेस्ट गर्ने र खोप लगाउने केन्द्रलाई व्यवस्थित गरौँ।
९) चिकित्सा क्षेत्रका अवकाश प्राप्त जनशक्ति , पढ्दै गरेका र पढाई सकेकालाई स्वयं सेवामा प्रेरित गर्ने र करारमा हायर गर्ने ।
१०) परिस्थितिको विश्लेषण गरेर प्लान ए बि र सि बनाएर लागू गर्ने ।

संकट,आपदको बेला अनुदार र असंवेदनशील बन्न कसैलाई सुहाउन्न अत स्स्वास्थप्रतिको अनुदार र असंवेनशील अनुहार बदल्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्