ट्राफिकमा अनलाइन जरिवाना भुक्तानी • Image Khabar Image Khabar


ट्राफिकमा अनलाइन जरिवाना भुक्तानी


Imagekhabar
२७ चैत्र २०७७, शुक्रबार १७:३३

ट्राफिकमा अनलाइन जरिवाना भुक्तानी

काठमाडौं, चैत २७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उलङ्घन गरे बापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाईन मार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ ।

महाशाखाले शुक्रबार फोन पे प्रा.लि. र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो बैंक खाता मार्फत सिधै जरिवाना तिर्न सक्ने प्रणालीको विस्तार गरेको हो ।

यस अघि नै शुरुवात भएको अनलाइन भुक्तानीको सेवालाई सबै सेवाग्राहीको पहुँचमा पुर्‍याउने उद्देश्यले महाशाखाले विभिन्न भुक्तानी प्रदायक कम्पनीहरुसँग सम्झौता गर्दै आएको छ ।

सम्झौता पत्रमा महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई, फोन पेको तर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ्ग हाउस (कनेक्ट आईपिएस)को तर्फबाट मुन्नी राजभण्डारीले हस्ताक्षर गर्नुभयो ।

यससँगै सेवाग्राहीले ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सक्ने बरिष्ठ प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि प्रणाली विकास गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्