Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


प्रधानमन्त्रीले कांग्रेसलाई भनेः लोकतान्त्रिक विधिबाट अघि बढ्नुहोस


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।

नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा मंगलबार आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भने “संसद्ले कानून बनाउँछ, काँग्रेस मान्न तयार छ कि छैन ? संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन काँग्रेसलाई चुनौती दिन्छु ।

संघर्षको मैदान हामीले पनि देखेका छौँ । अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र त्यसलाई नियन्त्रण गरिनेछ ।” 

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु मिलेको र स्थिर सरकार बनेकामा प्रतिक्रियावादीहरुलाई सही नसक्नु भएको बताए ।

उनले भने “काँग्रेस यति चाँडो वस्त्र उतारेर मैदानमा उत्रिएको छ । हिजो हाम्राविरुद्ध टाउकाको मूल्य तोकेको होइन ? झोलामा टाउको ल्याउनु भनेको वा सर्वस्वसहित जन्मकैद तोकिएका मान्छे शासन गरिरहेका छन्, अनि उनीहरुलाई चित्त बुझ्छ ?” 

उनले काँग्रेसले खोजेको लोकतान्त्रिक प्रणाली, मूल्य र मान्यतामा अझै प्रश्न रहेको आरोप लगाउँदै सामन्ती राजतन्त्रमा फर्केर आउन सक्ने विचार पनि काँग्रेसमा रहनु प्रतिगमनकारी विचार भएको र आफूहरु राजतन्त्रको पक्षमा नरहेको पुनः स्पष्ट गरे ।

प्रा डा गोविन्द केसीको अनशन र उनको मागमा काँग्रेस मिसिएको सन्दर्भमा उनले सबैको निःशुल्क स्वास्थ्योपचार र गुणस्तरीय शिक्षाका लागि नेकपाले पहल गर्दै आएको बताउँदै सबै समस्याको समाधान संवाद र संसद्बाट टुङ्गिने जनाए ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवाजस्तो अत्यावश्यक क्षेत्रमा कर्मचारीले हडताल गर्नु उचित नभएको बताउँदै प्रा डा केसीलाई सघन उपचार आवश्यक पर्ने भनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लिखित सुझाव आएकाले उनलाई काठमाडौँ ल्याइएको स्पष्ट गरे ।

“सरकारले केसीको उपचार गर्न नपाउने ? उहाँको नाममा अरुको राजनीतिको रोटी सेक्ने, बाटो छेक्ने ? यो हुन सक्दैन”, उनले भने ।

प्रधानमन्त्री ओलीले आफूले देश र जनताप्रति निष्ठापूर्ण कामका लागि दैनिक शपथ लिएर काम गरिरहेको पनि स्पष्ट गरे । रासस