
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले म्यानमारमा भएको सैनिक ‘कु’को विरोध गर्नुभएको छ । उक्त घटनाको अन्तराष्ट्रिय समुदायले पनि विरोध गर्नुपर्ने उहाँको तर्क छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परीषदको आगामी बैठकमा यसबारे छलफलको तयारी भइरहेको बेला महासचिव गुटरेजको यस्तो प्रतिक्रिया आएको हो । म्यानमारको सेनाले सत्ता कब्जा गर्दा निर्वाचित प्रतिनिधि आङ साङ सुची र राष्ट्रपति विन मिन्टलाई नियन्त्रणमा लिएको थियो ।
म्यानमारमा सेनाले कू गरि सत्ता हत्याएपछि पक्राउ परेकी नेतृ आङ साङ सूचीमाथि प्रहरीले विभिन्न अभियोगहरु दर्ता गरेको छ । उहांलाई देशको कानुन उल्लंघन गरेको, आयात र निर्यात कानूनको उल्लंघन गरेकोलगायतका अभियोग लगाइएको छ ।
सूचीको घरमा छापा मार्ने क्रममा सैन्य अधिकारीहरुले अवैध रुपमा आयात गरिएको सञ्चार सम्पर्क उपकरण फेला पारेको जनाएको थियो । यता राष्ट्रपति विन मिन्टमाथि प्राकृतिक प्रकोप व्यवस्थापन कानून उल्लंघन गरेको प्रहरीले अभियोग लगाएको छ ।
प्रहरीको अभियोग पत्र अदालतमा दर्ता गरिएको बताइएको छ । यता अन्तराष्ट्रिय समुदायबाट विरोध भइरहेका बेला नागरिक स्तरबाट पनि विरोध सुरू भएको छ ।
गएराति राजधानी नेपिद्अका बासिन्दाले थाल ठटार विरोध जनाएका थिए भने केहीले सवारी साधनको हर्न एकसाथ बजाएका थिए ।
चिकित्सकहरुले समेत आन्दोलन सुरु गरेका छन् । कोरोना महामारीका समयमा सैन्य शासकमाथि दबाब बढाउन केही चिकित्सकले राजिनामा समेत दिएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्