Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


युक्रेनमा रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु


0
Shares

काठमाडौं ।

रुसले युक्रेनमा गरेको ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १४ जना पूर्वी सहर ड्निप्रोस्थित मुख्य रेलवे स्टेसनमा रहेका नागरिक छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार यात्रुवाहक रेल छुट्ने तयारीमा रहेका बेला जेट इन्जिनयुक्त रुसी ड्रोनले रेलवे स्टेसनको प्लेटफर्ममा आक्रमण गरेको थियो । आक्रमणमा परी कैयौँ व्यक्ति घाइते भएका छन् । डिनिप्रोमै रहेको विद्यार्थी छात्रावासमा समेत आक्रमण हुँदा आगलागी भएको छ ।

रुसी आक्रमणका कारण सहरका तीन लाख ५० हजार घरपरिवारको विद्युत् आपूर्ति प्रभावित भएको छ । यस्तै, राजधानी किएभमा भएको क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

आक्रमणबाट गोदामहरूमा आगलागी हुनुका साथै भवनहरूमा समेत क्षति पुगेको छ । अमेरिकाको मध्यस्थतामा युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा ६ दिनका लागि स्थानीय युद्धविराम लागू गरिएको छ । युद्धग्रस्त ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन तथा इच्छुक सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न युद्धविरामले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको निन्दा गर्दै थप ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको तयारी भइरहेको चेतावनी दिनुभएको छ । युद्ध अन्त्यका लागि अमेरिका समर्थित शान्ति वार्ता पुनः अघि बढाउने प्रयास पनि जारी छ । आगामी महिना युक्रेन, रुस र अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने अपेक्षा गरिएको छ ।

Skip This