Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


भुटानमा भीषण बाढी : ठूलो क्षति, हिमताल फुटेको आशंका


0
Shares

काठमाडाैं ।
भुटानको गासा जिल्लामा गएराति आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

बाढीका कारण पुनाखा–गासा राजमार्गको केही भाग बग्नुका साथै लाया क्षेत्र सडक सम्पर्कबाट विच्छेद भएको छ । छाचु क्षेत्र, सडक तथा सिँचाइ प्रणालीमा बाढीले ठूलो असर पुर्‍याएको छ ।

बाढीको कारण गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएको आशंका गरिएको छ । यद्यपि, यसको आधिकारिक पुष्टि भएको छैन । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सेना, कर्मचारी, स्थानीय बासिन्दा तथा विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ ।

भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले मो छू र पुनात्साङछु नदीको जलस्तर निगरानी गरिरहेको छ भने जोखिम क्षेत्रमा साइरन सक्रिय पारिएको छ ।

सम्भावित बाढी र गेग्रानको जोखिमका कारण पुनात्साङछु–२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरी बाँधका ढोका खोलेर जलाशयको पानीको सतह घटाएको छ । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

बाढीको वास्तविक कारण र भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

Skip This