देशको नेतृत्व गर्ने सुनौलो मौका कांग्रेसलाई « Image Khabar


देशको नेतृत्व गर्ने सुनौलो मौका कांग्रेसलाई


Imagekhabar
१५ पुष २०७७, बुधबार ०८:५७

sanjeb karki article

सन्जिब कार्की ।

यो देशको सानाठूला सबै परिवर्तन कांग्रेसको नेतृत्व र अग्रसरतामा शुरुवात र सम्पन्न भएको कुरामा सिद्दान्ततः धेरैको असहमति र बिरोध छैन । तथापि सम्पूर्णतामा कांगेसले एक्लै यसको जस नपाउला तर कांग्रेस सबै परिवर्तनको नेतृत्वदायी र अभिभावकीय भूमिकामा थियो । यसले निर्वाह गरेको भूमिका र सक्रियता बारेमा समीक्षा, असन्तुस्टी र एक मत नहोला तर एतिहासिक तवरमा सम्पन्न भएका राजनीतिक परिवर्तन, घटना र परिघटनाको सबैभन्दा ठूलो साक्षी लगानीकर्ता र योगदान दिने नेताकार्यकर्ताको पार्टी आज पनि एक नम्बरमा नेपाली कांग्रेस नै छ ।

विगत सत्तरी वर्षभन्दा लामो यात्रा र आरोह अबरोहमा सबैकाल खण्ड र साशन व्यवस्थाका प्रयोगहरुमा कांग्रेस नेतृत्व गर्ने, प्रयोग हुने र परिवर्तनको बाहक बन्ने काममा अग्र भागमा नै छ । कांग्रेससँग राजनीतिक प्रणाली परिवर्तनको गौरवशाली इतिहास पनि छ । परिवर्तनको शुरुवाती दिनदेखि २००७ सालको पेरिफेरीमा शुरु भएको राजनीतिक र सांस्कृतिक जागरणको रुपान्तरणको क्रम २०६२र०६३ हुँदै आजसम्म जे भए गरिए त्यसको सबैभन्दा धेरै हिस्सा कांगेसको भागमा पर्छ । देशका मुख्य मुख्य राजनीतिक घटना ०७ सालदेखि २०१७ ,२०३६,२०३७ .२०४६ २०५२ ,२०६२,०६३ ,०६४ सबै सबैको जस अपजसको प्रमुख भोक्ता र प्रयोक्ता कांग्रेस छ । सत्ता संचालनका असफलतादेखि यावत घटनाका अपयस बोक्ने पनि कांग्रेस नै हो । राजनीतिक परिवर्तनको नेतृत्व सबै कांग्रेसको हातबाट सम्पन्न भएको छ ।

२०५२ सालमा प्रचण्ड नेतृत्वमा शुरु भएको शशस्त्र युद्दको विराम गर्ने र देसमा राजतन्त्र फाल्ने नेतृत्व पनि कांग्रेसका गिरिजाप्रसाद कोइरालाको प्रयासबाट नै सम्भव भएको तथ्य घाम जत्तिकै छर्लंग छ । बहुदलीय व्यवस्थामा सरकारहरु फेरिन्छन पार्टीहरु जित हार गर्दै सरकारमा जाने आउने बारम्बार भै रहन्छ । आलोपालो चलिरहन्छ । सरकार संस्थागत रुपमा देसको प्रतिनिधित्व गर्ने अविछिन्न उत्तराधिकारी भए पनि आम मान्छेको भरोशा र विश्वासको सबालमा देसमा अल्पमतमा रहन्छ । राज्यको नियम कानुनको बैधानिक हकदार र कार्यन्वयन गर्ने निकाय सरकार भए पनि जनमत सरकार संचालनार्थ मात्रै हुन्छ, देखिन्छ आम मान्छेको प्रतिनिधित्व र भावनात्मक समर्थन र सुभेच्छा पाउने बन्दैन । देशमा विद्यमान र क्रियाशील थुप्रै पार्टीहरु हुन्छन प्राय तिनीहरु सरकारको बिरोध र विमतिमा नै बाहिर बसेर आफ्ना गतिबिधि तल्लिन रहन्छन । जनसंख्याको ठूलो भाग सरकारको अपोजिसनमा रहन्छ यो क्रम यो या त्यो दलको सबालमा होइन हरेक सरकारको सबालमा देखिने बास्तबिकता हो ।

तसर्थ सरकारको नेतृत्व गर्नु र बिबिध परिस्थितिमा देसको परिवर्तनको नेतृत्व गर्नु नितान्त फरक कुरा हो । यसर्थ कांग्रेस त्यस्तो भाग्यमानी पार्टी र तिनका नेताहरु त्यस्ता एतिहासिक पात्र हुन् जसले गम्भीर ब्यबस्थापकीय त्रुटी गरेर सरकार मात्र संचालन गरेनन्, सत्तरी वर्ष देखि महत्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व गरेर देसको नेतृत्व गर्ने पटके हुन पाएका छन् । २०७४ सालको निर्वाचनमा पराजित भएर रन्थनिएर कांग्रेस पुरै बौरिएको छैन तर समयले कांग्रेसलाई पुन देशको अर्को रुपान्तरण गर्ने मौका दिन खोज्दैछ । कांग्रेस त्यो मौका चुकाउने कि ग्रहण गर्ने दोसाँधमा छ । प्रजातान्त्रिक निष्ठा र बिधि पद्धतिको लागि आफ्नो दल सदैव अग्र पंक्तिमा छ भन्ने परीक्षा सामना गर्ने र प्रमाणिकरण गर्ने सुनौलो मौका कांग्रेसलाई छ तर कांग्रेस अकर्मण्यताको जन्जिरमा फसेको छ । ओलीले गलत गरेर कांग्रेसलाई समय र जनता आफ्नो पक्षमा तान्ने सुवर्ण मौका दिएका छन ।

पटकपटक गरेको गल्ति र कमजोरी सच्याउने अवसर कांग्रेसले पाउन लागेको छ । कांग्रेस यस्तो अवसरमा पनि बिलख बन्धनमा परेर परिस्थतिको ठोस विश्लेषण गर्न सकिरहेको छैन । आन्तरिक कलह , असमान दृष्टिकोण र कार्यक्षमताको अभावले कांग्रेस जुन पोजिसन र अडानमा प्रस्तुत हुनुपर्ने हो त्यो गर्न चुकेको छ । अवसर खेर गइसकेको छैन तर आफ्नो मार्गचित्र र ओलीको पश्चगामी कदमबारे कांग्रेसको स्पस्ट रोडम्याप नआउनु र दोधार अलमल र किंगकार्तव्यबिमुढको स्थितिमा रहनु निश्चय नै आफ्नो खुट्टामा बन्चरो हान्दै नयाँ पुस्ताका कांग्रेसको भविष्य बन्ध्याकरण गर्नु हो । कांग्रेस जनको लागि देसको नेतृत्व गरेर सरकारलाई झुकाउने जुन मौका प्राप्त भएको छ त्यो फेरि फेरि नआउन सक्छ । आज सरकार सहित सरकार बाहेकका सम्पूर्ण पार्टीले कांगेसको भूमिका र स्पष्टता खोजेका छन् ।

कांग्रेसको छत्रछायामा सबै पार्टी गोलबद्द भएर असंबैधानिक कु लाई ट्रयाकमा ल्याउने अभियानमा छन् । प्रमुख बिपक्षी पार्टी कांग्रेसको नेतृत्व र भूमिका सबैको लागि स्वीकार्य बन्दैछ तर कांग्रेस खै किन हो आफ्नो लिंग पहिचान गर्न भुल्दैछ , ढिलासुस्ती गर्दैछ । कांग्रेस कहिले संसद पुनस्र्थापना भन्छ त कहिले चुनाव भए आफ्नो पासा पल्टने सम्झन्छ । अवस्यम्भावी चिट्ठाको रुपमा कांग्रेसले चुनावलाई हेरेको पाइन्छ तर आफै भित्रको छिनाझपटी र भोलि जित्ने सुनिस्चित हुदाँ हुने अन्तर्घात र कोशी कर्णाली बागमतिमा २०७४ पछि थुप्रै पानी बगिसकेको कुरालाई नजरअन्दाज गर्यो भने कांग्रेस प्रमुख विपक्षीको बेन्च भन्दा पनि पर धकेलिन बेर लाग्दैन भन्ने कुरामा हेक्का राखोस् । आफ्नै मेहनत र पसिनाले निर्माण नभएको मौका र परिस्थिति बदलिन बेर लाग्दैन ।

आज खण्डित र विभक्त भएका कम्युनिस्ट भोलि फेरि अंकमाल गरेर नाटकियरुपमा आउदैनन भन्ने कुनै ग्यारेन्टी छैन । कम्युनिस्ट पार्टीमा मेल र बेमेल केवल नाटकीय देखिन्छ । हठात जुट्छन , अकस्मात फुट्छन तर कम्युनिस्टहरुको आफ्नो सिद्दान्त गोत्र र थर एकै हुन्छ अन्तर्राष्ट्रिय हुन्छ । त्यसैले भारतीय नेता नेपाल आउदा बैदेशिक हस्तक्षेप र आन्तरिक मामलामा बोल्दा मुर्दावाद लाउने कम्युनिस्ट नेताहरु चिनियाँ राजदूतको भद्दा प्रहसन र नेताहरुको दैलोमा देउसी भैलो र टोलि नै आएर माइक्रो म्यानेजमेन्ट गर्दा पनि भाइचाराको सम्बन्ध र मित्रवत सुझाव र सुभेच्छा भनेर निर्धक्क बोल्छन । स्वाभिमान स्वाधिनता र आत्मसम्मानको कुरा गर्नेहरु चीनको मामलामा असहजता देख्दैनन बरु उसको कर्तव्य र दायित्व नै हो हाम्रो पार्टीको बारेमा चासो र चिन्ता भनेर निर्लज्ज उत्तर पस्कन्छन् । कम्युनिस्ट पार्टीको यस्तो डबल स्ट्याण्डर्ड बुझेर पनि कांग्रेस आफ्नो क्षमता प्रदर्शन गरेर अघि बढ्दैन भने उसलाई कांग्रेस पार्टीका कार्यकर्ता स्वयंले पनि राम राम मात्रै भन्ने छन् ।

ओलीको संसद विघटन सम्बन्धमा कांग्रेसले ठोस विश्लेषण र एकिन नीति अबलम्बन गर्न सकिरहेको छैन । आन्तरिक मतभेद, दृष्टिकोणमा अन्तर्रबिरोध र विचारमा सपाट प्रस्तुति बिना माग र मन्जिलको टुंगो देशभर प्रदर्शन गर्यो । क्या गज्जबको प्रतिपक्ष ! आफ्नो छुट्टै दृष्टिकोण नभएको प्रतिपक्ष !! चिट्ठा जसरी पनि परिहाल्छ भन्ने मनसाय बोकेको प्रतिपक्ष !!! कर्मकाण्डी प्रतिपक्ष !!!!

काङ्ग्रेस के चाहन्छ ? लोकतान्त्रिक परिपाटी लिकमा रहोस् भन्नाको खातिर संसदको पुनर्जीवन कि आफू जितेर ठूलो दल बन्न चुनाव ? केही कांग्रेसको मत रहेछ अदालतमा विचाराधीन मुद्दामा बहश र छलफल गर्नुहुदैन । के कांग्रेस आफ्नो राय दृष्टिकोण र आफ्नो मत व्यक्त गर्न आफै सक्दैन ? अदालतले दिने फैसला बिधि र प्रक्रिया एक ठाउँमा होला तर कांग्रेसको आफ्नो पार्टीगत धारणा र नीति को हो ? यस्तै ढुलमुले दोधारे मात्रै हो या भोलि देश हाक्ने पार्टीले आफ्नो दृष्टिकोण र निकासको खाका प्रस्तुत गर्नुपर्छ । खोइ कांग्रेसले बुझेको ? देसले सबै पार्टीले कांग्रेसको नेतृत्व र सक्रियता खोजेका छन् तर कांग्रेस सामान्य औपचारिकता पुरा गरेर बसेको छ जुन दुर्भाग्यपूर्ण र कांग्रेसको हितमा छैन ।

प्रतिनिधि सभा ब्युताउदा हुने नाफा घाटा र चुनावमा जाँदा हुने नाफा घाटा राजनीतिक रुपमा कुन आफ्नो पक्षमा आउछ ? लोकतान्त्रिक विधिप्रतिको निष्ठाबाट भोलिको दुरगामी यात्रा तय हुन्छ कि आउने चुनाव जसरी पनि जित्ने योगलाई सम्झेर यात्रा तय हुन्छ कांग्रेसले ठम्याउन सकेको देखिन्न । छोटो समयको लाभ कि दीर्घकालीन लाभ कांग्रेसको विश्लेषण र दूरदर्शिताको अभाव खट्केको देखिन्छ । समयले घुमी फिरी कांग्रेसलाई पुन देसको नेतृत्व समग्र लोकतान्त्रिक पद्दतिको नेतृत्वको अभिभारा सुम्पन खोज्दैछ तर कांग्रेस किन आफ्नो ल्याकत र निष्ठाबाट भाग्दैछ बुझिनसक्नु भएको छ । दूरदर्शी नेताको नेतृत्व कांग्रेसले नपाएर नै कांग्रेस अलमलमा छ कि अन्य अन्तर्यमा कारणहरु छन् ?

प्रतिक्रिया दिनुहोस्