९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


डोनाल्ड ट्रम्पले पूर्वमोडल क्यारेन मक्डुगलसँग गरेको रकम लेनदेन के हो ?


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकील माइकल कनले आफ्ना सेवाग्राही अर्थात् ट्रम्पले प्लेब्वाई म्यागजिनकी पूर्वमोडलसँग रकमबारे छलफल गरिरहेको कुरा गोप्य रुपमा रेकर्ड गरेको दावी अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन् ।

ती रेकर्ड यसै वर्षको शुरुमा संघीय अनुसन्धान निकाय एफबीआइले कनको कार्यालयमा छापा मार्दा फेला परेको दावी गरिएको हो ।

न्यूयोर्क टाइम्सले उक्त रेकर्डिङमा ट्रम्प र कनले क्यारेन मक्डुगललाई रकम तिर्ने विषयमा छलफल गरिरहेको जनाएको हो । उक्त रेकर्ड सन् २०१६ को राष्ट्रपतीय चुनावअघि गरिएको पनि बताइएको छ ।

न्याय मन्त्रालयले भने ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको दाबी गर्ने ती महिलालाई तिरिएको रकमबारे छानबिन गरिरहेको जनाएको छ ।

अभियोग नलगाइएका कनमाथि निर्वाचन कानूनको उल्लंघन गरेको, बैंक र कर छलीअन्तर्गत अनुसन्धान भइरहेका पनि जनाइएको छ ।

सन् २०१६ को राष्ट्रपति चुनावका बेला मक्डुगलले आफ्नो कथा ट्रम्पका साथी न्याशनल इनक्वाइररलाई बेचेकी थिइन् ।

१ लाख ५० हजार डलरको सम्झौताले उक्त पत्रिकालाई ट्याब्लोइड कथा छाप्ने अधिकार दिएको थियो र मक्डुगललाई भने आफ्नो ट्रम्पसँग रहेको भनिएको सम्बन्धलाई सार्वजनिक रुपमा भन्न प्रतिबन्ध लगाइएको थियो ।

ट्रम्पका हालका वकिल रुडी जुलियानीले न्यूयोर्क टाइम्सलाई राष्ट्रपति र कनबीच मक्डुगललाई पैसा दिनेबारे छलफल भएको बताएका हुन ।

तर पैसा भने कहिल्यै नपठाइएको र ट्रम्पले कुनै गल्ती नगरेको दावी पनि उहाँको छ ।

मक्डुगलले ट्रम्पको मेलानियासँग विवाह भएको एक वर्षपछि सन् २००६ मा १० महिना सम्बन्ध भएको बताएकी छिन् । (एजेन्सी)