Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई उल्लेख्य रूपमा घटाउने राष्ट्रपति ट्रम्पको घोषणा


494
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई उल्लेख्य रूपमा घटाउने घोषणा गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसल अकाउन्टमार्फत यस्ताे घोषणा गर्दै दक्षिण कोरियाले हालै इरानको निःशस्त्रीकरण अभियानमा अमेरिकालाई साथ दिन अस्वीकार गरेको आरोप लगाउनुभएकाे हाे। उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो ‘अत्यन्तै राम्रो सम्बन्ध’ रहेकाले पनि संयुक्त सैन्य अभ्यासलाई उल्लेख्य रूपमा घटाउने बताउनुभयाे।

उहाँले संयुक्त सैन्य अभ्यासहरू निकै महँगो हुने र यसको अधिकांश खर्च सधैँझैं अमेरिकाले नै व्यहोर्दै आएको बताउनुभएकाे छ । यस्ता अभ्यास शत्रुतापूर्ण सन्देश दिने खालका रहेको पनि उहाँको भनाइ थियाे । तर, उहाँले दुई देशले सोमबारदेखि वार्षिक सैन्य अभ्यास शुरु गर्न लागेको र अहिले आएर त्यसलाई रद्द गर्न धेरै ढिलो भइसकेको बताउनुभएकाे छ।

यसैबीच, दक्षिण कोरियाले पनि अमेरिकासँगको संयुक्त सैन्य अभ्यास पूर्वनिर्धारित तालिका अनुसार नै अघि बढ्ने जनाएको हाे ।११ दिनसम्म सञ्चालन हुने उक्त अभ्यास गत वर्षहरूकै जस्तै ठूलो स्तरमा हुने र त्यसमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने भएका छन् ।

गत साता अमेरिकी र दक्षिण कोरियाली सैन्य अधिकारीहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै उक्त सैन्य अभ्यासको घोषणा गरेका थिए ।