पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा « Image Khabar


पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा


इमेजखबर
८ मंसिर २०७७, सोमबार १८:३५

काठमाडौं, मंसिर ८ । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री चन्द्रदेव जोशीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीले सोमबार थुनछेक बहसको क्रममा साधारण तारेखमा राख्न आदेश दिएपछि जोशी रिहा हुनुभएको हो ।

जोशीको पक्षमा ९२ वर्षीय वरिष्ठ कानुन व्यवसायी कृष्णप्रसाद भट्टराई, भीमार्जुन आचार्य, ललित बस्नेतलगायतले बहस गर्नुभएको थियो ।

जोशी नेकपा संयुक्तका तर्फबाट तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा २०६९ जेठमा मन्त्री हुनुभएको थियो ।

जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात करोड आठ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

आयोगले जोशीसहित पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादार, पूर्वमन्त्री डम्बर श्रेष्ठ, तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा अख्तियारले मुद्दा चलाएको थियो ।

बालुवाटारको प्रधानमन्त्री निवाससँगै जोडिएको ११३ रोपनीभन्दा बढी सरकारी जग्गाका मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्