पाँच दशकदेखि जोतभोग गरेको जग्गाको लालपुर्जा पाएनन् स्थानीयले • Image Khabar Image Khabar


पाँच दशकदेखि जोतभोग गरेको जग्गाको लालपुर्जा पाएनन् स्थानीयले


विवेक भण्डारी (इमेज)
२ मंसिर २०७७, मंगलवार १५:१९

पाँच दशकदेखि जोतभोग गरेको जग्गाको लालपुर्जा पाएनन् स्थानीयले

नवलपुर, मंसिर २ । नवलपुरको देवचुली नगरपालिकाको शान्तिगैरा र झाक्रेमा बसोबास गर्ने अधिकांशले अहिलेसम्म जग्गाको पुर्जा पाउन सकेका छैनन् ।

सामुदायिक वन आसपास क्षेत्रमा बसेका यहाँका ७५ प्रतिशत बासिन्दा पुर्जाविहीन बनेका हुन् ।

नवलपुरको देवचुली नगरपालिका–४ बस्ने कुलबहादुर श्रीसमगरले जग्गा जोतभोग गरेको ५५ वर्ष भयो । आफू जन्मेदेखि हालसम्म उक्त जमिनमा जोतभोग गरेपनि मगरले आफ्नो भन्न पाएका छैनन् । किनभने, उनी बसेको जमिनको पुर्जा उनीसँग नै छैन ।

देवचुली नगरपालिकाको शान्तिगैरा र झाक्रेमा बसोबास गर्ने अधिकांशले अहिलेसम्म पुर्जा पाउन सकेका छैनन् ।

सामुदायिक वन क्षेत्रभित्र बसेका कारण वनले पुर्जा वितरणमा रोक लगाएपछि उक्त बस्तीका ७५ प्रतिशत जग्गा तथा घर पुर्जाविहीन बनेका छन् ।

२०३६ सालदेखि बस्ती विकास हुँदै गएको उक्त क्षेत्रमा हालसम्म पनि आफ्नो जमिनका रुपमा स्थानीयहरुले स्वामित्व पाउन सकेका छैनन् ।

५०–६० वर्षअघिदेखि जमिनको जोतभोग गरेकाहरुले हालसम्म पुर्जा नपाउँदा उनीहरुको पीडा थेगी नसक्नुको छ ।

आफूहरुले सामुदायिक वन संरक्षणसँगै जमिनको जोतभोग गरेपनि वर्षौंसम्म पुर्जा नपाएको र आफ्नै जमिनलाई पनि आफ्नो भन्न सक्ने अवस्था नआएको स्थानीय ललितबहादुर थापाको गुनासो छ ।

बस्तीलाई वन क्षेत्र बनाउँदा विकासका कामहरु पछि परेको र स्थानीयहरुले विकासको अनुभूति नै गर्न नपाएको उनको भनाइ छ ।

सुकुम्बासी समस्या समाधान हुन नसक्दा सुकुम्बासीहरुले आफूहरुलाई चुनावताका दिएको वाचा पूरा नगर्ने हुन् कि भन्नेमा चिन्तित छन् ।

यता, स्थानीय तहका जनप्रतिनिधिहरुले भने आफूहरुले पहल गरिरहेको बताएका छन् ।

देवचुली नगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष गिरबहादुर थापाले सुकुम्बासी समस्या समाधानका लागि सुकुम्बासी आयोग गठन भएको र उक्त आयोगले पुर्जा दिन पहल गर्ने बताउनुभयो ।

आफूले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिनको पुर्जा नपाउँदा उनीहरुको मन खिन्न देखिन्छ ।

त्यसैले पनि पुर्जाविहीन समुदायको चाहना पूरा गर्नको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्