एकल पुरुषलाई समेत भत्ता ! • Image Khabar Image Khabar


एकल पुरुषलाई समेत भत्ता !


Imagekhabar
२ कार्तिक २०७७, आईतवार ०८:१३

एकल पुरुषलाई समेत भत्ता !

दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ ।

तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ ।

गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भत्ता दिन थालेको हो ।

एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेका कारण भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

उनीहरुको आर्थिक अवस्थामा थोरै राहत पुगोस् भन्नका लागि भत्ता दिन थालिएको हो ।

गाउँपालिकाभरिका २८ एकल पुरुषले गत आर्थिक वर्षदेखि निरन्तर एकल पुरुष भत्ता खान थालेका छन् ।

अपिहिमाल गाउँपालिकाका अनुसार वडा नं १ का दुई, वडा नं २ का तीन, वडा नं ३ का नौ, वडा नं ४ का तीन, वडा नं ५ का पाँच र वडा नं ६ का छ जना एकल पुरुषले भत्ता पाइरहेका छन् ।

गाउँपालिकाले भत्ता दिन थालेपछि एकल पुरुष पनि खुशी छन् । अपिहिमाल गाउँपालिका–४ का करवीरसिंह ठेकरेले भन्नुभयो, “गाउँपालिकाले मासिक रु ५०० भत्ता दिएपछि साबुन, नुन, तेल किन्न सहज भएको छ । अझै यो रकम थप गरिदिए हामी एकल पुरुषलाई पनि सहज हुनेछ ।”

गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम गत वर्ष नै निर्माण गरेको छ ।

यस्तै गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई गाउँपालिकाको तर्फबाट रु एक हजार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्रसिंह धामीले बताउनुभयो । प्रोत्साहन रकम पाउने भएपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन थालेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्