ट्रम्पसँग बहस गर्न बाइडेनले गरे अस्वीकार, संक्रमित नरहेको विश्वसनीय प्रमाणको खोजी • Image Khabar Image Khabar


ट्रम्पसँग बहस गर्न बाइडेनले गरे अस्वीकार, संक्रमित नरहेको विश्वसनीय प्रमाणको खोजी


Imagekhabar
२१ आश्विन २०७७, बुधबार १४:२७

us debate trump biden

एजेन्सी, असोज २१ । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट प्रत्याशी जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग अर्को चरणको टेलिभिजन बहस गर्न अस्वीकार गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पलाई कोरोना निको भएकोमा शंका गर्दै बाइडेनले केही गरी अझै पनि ट्रम्प संक्रमित नै भए दोस्रो टेलिभिजन बहस गर्न नहुने उहाँले बताउनुभएको हो ।

बाइडेनले भन्नुभयो, ‘मलाई लाग्छ, उनको साथमा अझै पनि कोभिड रहेको भए, हामीले बहस गर्नु हुँदैन । हामीले निकै कडा दिशानिर्देशनको पालना गर्नुपर्दछ । धेरै मानिस संक्रमित भएकाले यो एक निकै गम्भीर समस्या हो ।’

आगामी बहस फ्लोरिडाको मियामीमा यही १५ अक्टोबरका लागि तय गरिएको छ ।

१ अक्टोबर विहीबार गरिएको परीक्षणमा ट्रम्पमा संक्रमण पोजिटिभ देखिएको थियो । त्यसपछि उहाँको अमेरिकी सैन्य अस्पतालमा उपचार गरिएको थियो । ६ अक्टोबरमा गरिएको अर्को परीक्षणमा नेगेटिभ देखिएपछि उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

अमेरिकी सार्वजनिक स्वास्थ्य निर्देशन अनुसार पनि लक्षण देखिएको दिनबाट अरु दश दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

तर ट्रम्प दोस्रो टिभी बहसमा लागि तयार रहेको उहाँका सल्लाहकार जेना एलिसले जानकारी दिएका छन् ।

एलिसले गएको टिभी बहसमा बाइडेनले राम्रो गर्न नसकेकाले बहसबाट उम्किने दाउ खोजिरहेको आरोप समेत लगाउनुभयो ।

गत हप्ता गरिएको टिभी बहसलाई इतिहासकै खराब बहसका रुपमा लिइएको छ । जहाँ ट्रम्प र बाइडेन एकापसमा झगडाको स्तरमै ओर्लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्